वैशाख -२८।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ को बेल्टारी र ताप क्षेत्रमा गरिएको सिल थप कडाइ गरिएको छ। गत २५ गते सो क्षेत्रमा स्थानीय ३२ जनाको स्वाब संकलन गरि पिसिआर विधिबाट कोरोना परिक्षण गरिएकोमा आज २७ जनाको पिसिआर रिपोर्ट प्राप्त भएको छ। जस मध्ये १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ। एकैपटक १९ जनामा कोरोना संक्रमणको पुष्टि भए पश्चात् जारी सिललाई थप कडाइ गरिएको हो।
केहि दिन अगाडि स्थानीय गाउँमा चौरासी पुजामा सहभागी भएका हरु मध्येबाट कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको थियो। कोरोना संक्रमण समुदाय स्तरमा फैलिए पश्चात् सो क्षेत्रमा २ जनाको मृत्यु समेत भैसकेको छ।
आज संक्रमणको पुष्टि भएकाहरु मध्ये एक जनाको बाहेक सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिदै कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लोकेदार थापाले कोरोना नियन्त्रणका लागि आफू युद्ध स्तरमा लागेको जानकारी दिनु भयो।
स्थानीय बासीलाई स्थिति सामान्य नहुदा सम्म घरमै बसेर कोरोना संक्रमण विरुद्धको लडाइँमा सहयोग गर्न समेत वडा अध्यक्ष थापाले आग्रह गर्नु भयो।
Discussion about this post