आइत, अशोज ३, २०७८
आइत, अशोज ३, २०७८

कविताः उपविधा “आगो”

साहित्य र विशेषगरी पूर्वीय देशहरु (जापान, कोरिया, चीन आदि) को साहित्य तथा भारत लगायत मध्यपूर्वका देश हरुमा प्रस्फुटन भएको साहित्य बाट समेत प्रभावित र विकसित हुदै आज
साहित्यलाई समाजले, स्थानीय परिवेशले, संचार माध्यमले, राजनीतिले, विश्व परिवेशले, घटना परिघटना हरु आदिले प्रभावित गरेको हुन्छ र साहित्यको सोहि अनुरुप विकाश पनि भैरहेको हुन्छ | नेपाली साहित्य पनि विश्व यो स्थान सम्म आइ पुगेको छ |
कविता एक सशक्त र प्रभावकारी साहित्यिक विधा हो | ठूला ठूला महाकाव्य देखि साना तथा सुक्ष्म कविता हरु पनि नेपाली भाषामा पढ्न पाइन्छ | नेपालमा समकालीन श्रष्टाहरुले लघु कविताको नयाँ नयाँ प्रयोगहरु प्रकाशमा ल्याईरहेका छन् | लघु कविताका अनेकौं विधा हरु माझ भर्खरै प्रयोगवादी कवि श्री पुष्कर राज रेग्मी “अथक” ले जम्मा आठ अक्षरको दुई दुई अक्षरका शब्द सहित चार पंक्तिमा परिकल्पना गरिएको लघु कविता विधा “शीत” लाई प्रकाशमा ल्याउनु भएको छ | उक्त विधा लाई धेरै पाठक र रचनाकार हरुले रुचाएका छन् तथा नयाँ नयाँ रचनाहरु सामाजिक संजाल मार्फत शुभचिन्तक पाठकहरु माझ पस्केका छन् | आधुनिक व्यस्त संसारमा छोटो मीठो रुचाईने कुरा क्रिकेटको टि २०(Twenty 20) प्रतिश्पर्धाले प्रमाणित गरिसकेको छ | लामो लामो महाकाव्य, खण्ड काव्य हरुको आफ्नै गरिमा छ | उक्त साहित्य रचना गर्न लामो समय, गहिरो अध्ययन र ज्ञानको जरुरत पर्दछ तथा उक्त साहित्य प्रति समर्पित श्रष्टा र पाठकहरु मात्र आकर्षित हुने यथार्थ हाम्रो सामु छ | स्मरण रहोस, लघु कविता रचना गर्न लघु ज्ञान वा अल्प ज्ञान काफी छ भन्न खोजेको कदापी होइन | वर्तमान परिप्रेक्षमा थोरै समय मा रचना गर्न सकिने र केहि साहित्यिक अनुशाशन कायम गरि रचना तथा पठन गर्नसकिने तथा साहित्यको भोक थोरै भएपनि मेट्न सकिने “रातो राम्रो गुलियो मीठो” भने झैँ च्वाट्ट चुट्ट गर्न सकिने लघु कविताको अनेकौ रुप हरु हाम्रा सामु छन् जस्तै: मुक्तक, हाइकु, तांका, उदक, खोरिया, सिर्ज, फांचल, सेदोका, छेस्का, छोक, एलाक, रुवाई, लोक पद्य, कबित्, कूट पद्य, शायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पुर्बी, केश्रा, खिचडी, युग्मक, बाछिटा, सुसेली, साइनो, टुक्का, झर, चोखा, तप्कना, ॐ आदि | यी सबै छोटा/लघु/सुक्ष्म कविता हरुले आफ्नो पहिचान स्थापित गरेका छन् वा पहिचान स्थापित गर्ने क्रममा रहेका छन् र ती सबैका बिशेष सर्जक र पाठक हरु पनि छन् |
यसै सन्दर्भमा नयाँ प्रयोगको रुपमा मैले पनि एउटा छुट्टै संरचनाको नयाँ उप विधा “आगो” को परिकल्पना गरेको छु | “आगो” मा पाँच / पाँच अक्षरका दुई पंक्तिमा जम्मा दश अक्षर हुनेछन् | यसका पनि केहि सीमितता र परिधि छन् तथापी केहि साहित्यिक अनुशासन कायम गर्न सके यो विधा पनि सजिलै रचना गर्न सकिने चोटिलो र दूरगामी असर गर्न सक्ने क्षमताको “आगो” सिर्जना गर्न सकिन्छ भन्ने मेरो राय रहेको छ | नाम “आगो” भए पनि यसले समाजलाई शीतलता प्रदान गर्दै सकारात्मक र रचनात्मक दिशा तर्फ डो-याउने छ | आशा छ यो उप विधा “आगो”ले सम्पूर्ण साहित्य प्रेमी समाजलाई तताउने छ |

सम्भव छ विभिन्न लघु कविताको आंधीमा “आगो” पनि कसै संग ठोक्किन सक्दछ र आगलागी हुन सक्दछ | तसर्थ, प्रसव वेदना बाट मुक्त नहुँदै विभिन्न आलोचना र आक्रमणको सामना पनि गर्नु पर्ने हुनसक्दछ | “आगो”ले पनि फुकी फुकी पाइला चल्नु जरूरी छ | धेरै अध्ययन र अनुसन्धान पश्चात “आगो” लाई छुट्टै उपविधाको रुपमा प्रस्तुत गरिएको छ | कसै कसैले “आगो” को साइनो एकापसमा समान झैं लाग्ने झर र टुक्का नाम गरेका उपविधा संग छ पनि भन्न सक्दछन् | यो सन्दर्भमा मेरो जिकिर निम्नानुसार रहेको छ: सबै लघु कविता हरु कविता विधा कै उपविधा भएकोले केहि न केहि समानता हुनु लाई अन्यथा लिनु हुदैन | ठ्याक्कै समानता वा हुबहू हुन गएमा पहिचानको समस्या हुन सक्दछ र थप अनुसन्धान वा बहसको विषय हुन् सक्दछ तर केहि तात्विक भिन्नता भएमा पहिचान गरि सोहि रुपमा ग्रहण पनि गर्नु पर्ने हुन्छ |

झर लघु कविताको संरचना दुई पंक्तिमा स्वतन्त्र छ, भन्नुको तात्पर्य दुई पंक्तिमा जति पनि शब्द हुन सक्दछन तर “आगो” लघु कवितामा ५/५ अक्षरका जम्मा १० अक्षरका २ वटा पंक्ति छन् र जुनसुकै परिस्थितिमा पनि अक्षर थप घट हुनसक्दैनन् | त्यस्तै झर मा अनुप्राश वा लयको त्यति ख्याल गरिएको छैन भने “आगो” मा दुबै पंक्तिको कुनै एक समकक्षी वा समानान्तर वा सामुन्नेको शब्दको अनुप्राश मिलेकै हुनु जरूरी छ | तसर्थ, कुनै स्वतन्त्र झर ले “आगो” को रुप लिन सक्ला तर कुनै पनि नियमबद्ध “आगो”ले स्वतन्त्र झर को परिचय दिन सक्दैन |

त्यस्तै टुक्का उपविधाले अन्त्यानुप्रास लाई जोड दिएको छ तर एकाक्षरी अनुप्राशलाई मान्यता दिएको छैन तथा थोरै अक्षर देखि धेरै अक्षर सम्मको हरफ हरु र दुबै हरफमा समान संख्यामा अक्षर हरु हुनुपर्ने भनिएकोले टुक्का उपविधा चाहिं “आगो” को केहि नजिक हो कि जस्तो भान पर्न सक्छ तर “आगो” को निश्चित अक्षरको संरचना र जुनसुकै समकक्षी शब्द वा सामुन्नेको शब्द र एकाक्षरी शब्दको पनि अनुप्राश मिलेमा ग्राह्य हुने स्वतन्त्रता रहेको छ | टुक्कामा शब्दहरु दोहोरिदैनन भने “आगो”मा शब्दहरु दोहोरिन वा तेहोरिन सक्दछन | तसर्थ, “आगो” विशिष्ट र सबै उपविधा भन्दा पृथक पहिचानका साथ उपस्थित छ | अझै पनि पहिचानको द्वन्द्व देखिएमा समयक्रममा त्यसको निरुपण पनि प्रबुद्ध पाठक र विज्ञ समालोचक हरुबाट हुदै जानेछ भन्ने विश्वाश रहेको छ |

संरचनागत हिसाबले मात्र तुलना गर्ने हो भने झरमा दुई हरफ हुन्छन्, शेर वा शायरीमा दुई हरफ हुन्छन्, युग्मक, टुक्का, लोक दोहोरि र लोक पद्ध्यमा पनि दुई दुई हरफ नै हुन्छन् | आल्हामा दुई देखि चार हरफ र छोटा कविता (छोक) मा एक देखि चार हरफ हुन्छन् | रुवाई र मुक्तकमा पनि चार चार हरफ हुन्छन त्यस्तै सुसेली र हाइकुमा पनि समान तीन तीन हरफ तथा पहिलो, दोस्रो र तेस्रो हरफमा क्रमशः ५, ७, ५ अक्षर रहेका छन् | त्यस्तै दुई वटा गजल सरह एउटा| त्यस्तै दुई वटा गजल सरह एउटा मुक्तक हुन्छ | त्यसो भन्दैमा पहिले अस्तित्वमा आएका उपविधाले पछी जन्मेका उपविधालाई निषेध गर्न मिल्दैन | अन्यथा माथि उल्लेख भएका सबै उपविधामा सबै उपविधा भन्दा पुरानो उपविधाले अरु सबैको अस्तित्व स्वीकार गर्नु हुदैन तर पनि माथि उल्लेख भएका सबै उपविधा हरु अस्तित्वमा छन् र आ-आफ्नो यात्रामा चलायमान छन् | नत्र कविता वा काव्य विधा बाहेक अरु कुनै उपविधाको कल्पना सम्म पनि गर्न सकिंदैन | शब्दको गिन्ती र हरफको गिन्ती बराबर हुदैमा मात्र एउटा उपविधा अर्को संग मिलेको वा एउटै उपविधा हो भनि ठोकुवा गर्न वा एउटा उपविधाले अर्को उपविधाको क्षेत्रमा प्रवेश गर्यो भन्न वा फलानो उपविधाको सर्वाधिकार हो भनि अड्डी लिन मिल्दैन | हरेक उपविधाको संरचनागत नियम हरु फरक फरक हुन्छन् | कसैलाई निषेध नगरी सबैको अस्तित्व स्वीकार गर्दै अगाडी बढेमा साहित्यको श्रीवृद्धि हुनेछ न कि अराजकता जन्मिनेछ |

यसै सन्दर्भमा नेपाली भाषाका मूर्धन्य साहित्यकारहरु मध्येका एक र नेपालका भूतपूर्व प्रधानमन्त्री वि. पी. कोइरालाका साहित्य सम्बन्धिका उद्गारहरु उल्लेख गर्न आवश्यक ठानेको छु |

• कुनै पनि कला मर्यादित हुँदैन | आफ्नो मर्यादा यसले आफै शृजना गर्छ |
• मेरो साहित्यिक उद्देश्य नियम बनाउने नभएकोले त्यसमा इन्साफ खोजीगरेमा त्यो त्यहाँ पाइने छैन |
• जीवनका अनन्त ज्वाला बाट टिपेका शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिंगो हो – कविता |
• लेखकको स्वतन्त्र अभिव्यक्ति माथि भाषिक विद्वता छाँटिनु उपयुक्त होइन किनभने स्वतन्त्र अभिव्यक्ति माथि भाषिक अभिव्यक्ति छाँटिन थालियो भने भाषा र साहित्यको विकास अवरुद्ध हुन्छ |
• कला, साहित्य मानिसको अंतर्प्रेरणा प्रवृत्तिको अभिव्यक्ति हो | कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ | उसलाई हिंडी सकेको बाटोमा खुट्टा चाल्न मन लाग्दैन | आफुले हिंड्ने बाटो आफै बनाउन चाहन्छ | भौतिक तृप्ति भन्दा दैविक असन्तोषलाई ऊ अँगाल्छ | फ्रायडको सिद्धान्तलाई म मान्दछु तर अझ अघि बढेर म आज नैतिकतामा पुगेको छु |
• राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुला |
• म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी |
• भाषा व्याकरणका अधिनमा रहनु हुँदैन किनकि व्याकरण पनि राजनीति जत्तिकै अग्राह्य चिज हो | भाषा जति उन्मुक्त रहन्छ त्यति नै त्यो गतिशील रहन्छ |
(साभार: सशांक कोइराला)
भाषा र साहित्यको विकास हुन एकपटक विकृत वा अराजक भएमा क्रमिक विकाश भन्दा चांडो फड्को मार्छ भन्ने बुझाई भाषा विज्ञहरुको साथै वि. पी. कोइरालाको पनि रहेको ज्ञात हुन्छ | जुन विधाले समयको मार सहन गर्दै आफ्नो यात्रा कायम राख्न सक्दछ र स्वस्फुर्त रुपमा सर्वस्वीकार्य हुदै आफ्नो अस्तित्व जोगाउन सक्दछ त्यो विधा वा उपविधा सबैले ग्रहण गर्दछन् |

आगो किन?
विकिपीडिया अनुसार “आगो” एक दहनशील पदार्थहरूको तीव्र अक्सीकरण हो, जसले उष्मा, प्रकाश र अन्य अनेक रासायनिक प्रतिकारक उत्पाद जस्तै कार्बन डाइअक्साइड र पानी उत्पन्न गर्दछ । अक्सीकरणबाट उत्पन्न ग्यास आयनीकृत भएर प्लाज्मा पैदा गर्दछ । दहनशील पदार्थमा सन्निहित अशुद्धिका कारण ज्वालाको रंग र आगोको तीव्रतामा अंतर हुन सक्छ । सामान्य रूपमा आगो दाह पैदा गर्दछ जसमा भौतिक रूपबाट पदार्थहरूलाई क्षतिग्रस्त गर्ने क्षमता छ ।
नेपाली बृहत् शब्दकोष अनुसार “आगो – ना. [सं – अग्नि] १. तेज पुँज वा दाहक तत्वको दृश्यरुप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; २. रीस, क्रोध” हो ।
मैले कल्पना गरेको “आगो” को परिभाषा पनि कथम् कदाचित माथि उल्लेख गरे जस्तै नै हो | “आगो” समाजमा विद्यमान छ जुन आंधी बेहरिको संगतमा पुग्यो भने समाजलाई तहस नहस गर्न सक्छ र त्यहि “आगो” सौम्य र शालीन वायुको संगतमा पुग्यो भने समाजलाई न्यानो उर्जा प्रदान गर्नुका साथै प्रकाशले ज्वाजल्यमान गरी सही दिशा पत्ता लगाउन पथ प्रदर्शकको काम पनि गर्दछ | मेरो “आगो” ले समाजमा भएका बिकृति माथि तीक्ष्ण प्रहार गरी समाजमा सकारात्मक सुधार ल्याउनेछ र सम्पूर्ण प्राणी जगत लाई वात्सल्यमय वातावरणमा जिउने प्रेरणा प्रदान गर्नेछ |
मलाई लाग्छ कुनैपनि साहित्यको भनौं वा कवितालाई कुनै निश्चित परिभाषा भित्र कैद गर्नु अन्याय हुन सक्दछ | साहित्य लाई स्वतन्त्र उड्न दिनु पर्दछ अनि मात्र भावको गहिराइमा डुबुल्की लगाउन सकिन्छ | तापनि हरेक वस्तु को नाम र पहिचान हुन्छ त्यसकारण लघु कविता “आगो”लाई महसूस गर्नेहो भने निम्नानुसार को न्यूनतम पहिचान हुनु जरुरि छ: पाँच अक्षरको दुई पंक्तिमा जम्मा दश अक्षरमा रचित विभिन्न भावहरु सहितको अर्थपूर्ण र परिपूर्ण लघुत्तम काव्य रचना नै “आगो” हो |
प्रयोगवादी कवि पुष्कर राज रेग्मी “अथक” का अनुसार: दुई पंचाक्षरी पंक्ति सहित दशाक्षरको संरचनामा विम्ब, प्रतीक र रसमय भावमा सिर्जना गरिएको वजनदार झट्का दिन सक्षम कविताको लघुत्तम रुप नै “आगो” हो |
“आगो” नवजात शिशु सरह भएकोले धेरै हेरचाह र पालन पोषणको जरुरत छ | समयको पदचाप पछ्याउंदै जाने क्रममा अवश्य पनि “आगो”को विकास हुनेछ र यसको परिभाषाले पनि परिष्कृत र पूर्ण रुप ग्रहण गर्नेछ |
तसर्थ; तल उल्लेख गरिएको लघु कविताको रुपलाई “आगो” भन्दा उपयुक्त शब्द अरु हुन सक्दैन भन्ने मेरो बुझाई हो |
किन पाँच?
पाँच पाँच अक्षरका दुई पंक्तिले “आगो” लाई प्रतिनिधित्व गर्नेछन् | धार्मिक र संस्कृतिक दृष्टिकोणले अंक “पांच” को विशेष महत्व छ | हाम्रो शरीर “आगो” पानी, हावा, माटो र आकाश जस्ता पन्चतत्व ले बनेको छ मानव शरीरमा पनि पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र हात खुट्टा मा पाँच पाँच औंला जस्ता चेतना र काम गर्ने अंग छन् | पाँच पाण्डवले पनि अधर्म माथि धर्मको विजय भएको महाभारतको युद्ध जितेका थिए | महाभारत मा पनि पाँच शब्द छन् | कुन्ती, अहिल्या, सीता, द्रौपदी र मंदोदरि जस्ता “पन्चकन्या” ले हाम्रो पौराणिक समाजमा सतीत्व र स्त्रीत्वको उदाहरण पेश गरेका छन् | स्त्री अबला होइन स्त्री महान छिन्, स्त्री क्रान्तिकारी छिन् र स्त्री पनि समाज परिवर्तनमा नेतृत्वदायी भूमिका पेश गर्न सक्ने वीरंगना हुन् | त्यस्तै पन्चामृत, पन्चगब्य, पन्चस्नान, पन्चदान, पंचांग, पंचशील, पंचाग्नी आदि जस्ता धार्मिक, सांस्कृतिक र पारम्परिक तत्व तथा क्रियाकलाप हरु छन् | त्यस्तै दैवी पीडा पनि अग्नि, जल, रोग, दुर्भिक्ष र महामारी गरि पाँच प्रकारका छन् | स्वर पनि मूल रुपले अ, इ, उ, ऋ र लॄ गरि पाँच नै छन् | वसन्त पंचमी बाट अक्षरारम्भ गर्ने लगायत ऋषि पन्चमी, नाग पंचमी, विवाह पंचमी जस्ता तिथिहरुको बिशेष महत्व छ | तसर्थ, “आगो” निर्माण गर्दा पनि यिनै पाँचको सशक्त प्रतिनिधित्व होस् भनि हरेक पंक्तिमा पाँच अक्षर को कल्पना गरिएको छ |

किन दश ?
भगवानका मत्स्य, कुर्म, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की गरि दशावतार छन्, अधर्म माथि धर्मको विजय तथा असत्य माथि सत्यको विजयको प्रतीक स्वरूप हिन्दु हरुको महान चाड दशैं, पुर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैकृत्य, वायव्य, इशान, आकाश र पाताल गरि दश दिशा, दश दश वर्षको समय दशक, गाई, तिल, सुन, भूमि, घ्यू, कपडा, चाँदी, नुन, सखर र फलाम गरि दश दान र दश अंकको क्षमता, अंक हरु पनि दश वटा छन् तथा अंक निर्माणमा एक सुन्य थप्दा त्यसले दशको प्रतिनिधित्व गर्दछ र संख्याको आकार र भार पनि सोहि अनुरुप बढ्दै जान्छ तर उक्त सुन्य दायाँ तिर थप्ने कि बायाँ तिर थप्ने जानकारी आफुलाई हुनु पर्दछ | माथि उधृत गरिएका प्रसंग र तिनको महत्वलाई मनन गरि नै समग्रमा दश अक्षरको “आगो” को कल्पना गरिएको छ | पहिलो पंक्तिको पाँच अक्षरले उठान गरेको विषयको गाम्भीर्यतालाई, सुन्यतालाई र अधुरोपनलाई दोस्रो पंक्तिको पाँच अक्षरले पूर्णता दिनेछ र दश को सामर्थ्य प्रस्तुत गर्नेछ भन्ने विश्वास गरेको छु |
“आगो” ले विनाश होइन समाजलाई न्यानो प्रदान गरोस्, “आगो” ले विग्रह होइन अँध्यारोमा हराएकाहरुलाई आशाको ज्योति प्रदान गरोस् | महाकाव्य बाट मात्र होइन “आगो” बाट पनि महान संदेश दिन सकिन्छ तथा महाकविले मात्र होइन भुइँकविले पनि सिर्जना गर्न सक्दछ भन्ने सकारात्मक सोचका साथ अगाडी बढ्नु जरूरी छ, लामा कविताका लप्का मात्र होइन सानो झिल्को “आगो” पनि पढ्न जरूरी छ | अरिंगाल सानो हुन्छ तर टोकाई खतरनाक हुन्छ त्यस्तै जिरे खुर्सानी सानो छ तर यसको तीखोपना कम दमदार हुदैन भन्ने कुरालाई समस्त साहित्यिक समाजले मनन गर्दै सकारात्मक टिप्पणी र समालोचनाको आशा गर्दछु | जस्तो नाम छ “आगो” उप विधाले त्यस्तै जल्दा बल्दा र तातो विषयहरुको उठान गर्नेछ र समाजमा थोरै भएपनि सकारात्मक परिवर्तनको पक्षमा योगदान गर्नेछ भन्ने आशा गरि निम्नानुसारको साहित्यिक अनुशासनको पालना गरि छोटो मीठो र कालजयी रचना गर्न सकिने छ भन्ने समेत आशा गरिएको छ |
“आगो” संग सम्बन्धित केहि थप शब्दावली हरु
दुई हरफको पूर्ण लघु कवितालाई “आगो” भनिएको छ भने उक्त लघु कविताको कुनै एउटा शब्दलाई “फिलिंगो” नाम दिइएको छ | “आगो”को पंक्तिलाई “झिल्को” पहिलो पंक्तिले विषय उठान गर्ने भएकोले “फुकान झिल्को” र दोश्रो पंक्तिले विषय वस्तुको वैठान वा पूर्णता दिने भएकोले “बुझान झिल्को” भनिएको छ | एक “आगो” भन्दा बढी र दश “आगो” सम्मको एउटै विषय वस्तुमा रचित “आगो” हरुको संगालो लाई “मन्त्र” वा “लप्का”, दश भन्दा बढी र सय सम्मको एउटै वा पृथक विषयमा रचित “आगो”हरुको संगालो लाई धुनी भनिएको छ त्यस्तै सय भन्दा बढी सयौं, हजारौं “आगो”हरु तथा अनेकौं विषयमा रचित “आगो”हरुको संगालो रहेको पुस्तक वा काव्य लाई महाधुनी भनिएको छ | “आगो”को दुई पंक्तिलाई पूर्ण कविता मानिए पनि समय, विषय वस्तु र सन्दर्भले “आगो” कविता लामो रुपमा रचना गर्न सकिने स्वतन्त्रता रहेको छ | “आगो”को प्रभावकारिताको मापदण्ड पनि तोकिएको छ | “आगो” ले उठान गरेको विषयमा भएको सटीक र चोटिलो प्रहारले उत्पन्न गहनता, माधुर्यता, कटाक्ष, प्रभाव र वजनलाई थोरै बाट बढ्दो क्रममा क्रमशः “ताप, धुवाँ, कोइला, खरानी र पंचमहाभूत” गरि वर्गीकरण गरिएको छ | “आगो” सिर्जना गर्ने रचनाकार वा कवि लाई “उपाशक, पुजारी, सन्न्यासी, योगी, वा हवनकर्ता” भनी नामकरण गरिएको छ |
“आगो” संग सम्बन्धित केहि थप शब्दावली हरु
दुई हरफको पूर्ण लघु कवितालाई “आगो” भनिएको छ भने उक्त लघु कविताको कुनै एउटा शब्दलाई “फिलिंगो” नाम दिइएको छ | “आगो”को पंक्तिलाई “झिल्को” पहिलो पंक्तिले विषय उठान गर्ने भएकोले “फुकान झिल्को” र दोश्रो पंक्तिले विषय वस्तुको वैठान वा पूर्णता दिने भएकोले “बुझान झिल्को” भनिएको छ | एक “आगो” भन्दा बढी र दश “आगो” सम्मको एउटै विषय वस्तुमा रचित “आगो” हरुको संगालो लाई “मन्त्र” वा “लप्का”, दश भन्दा बढी र सय सम्मको एउटै वा पृथक विषयमा रचित “आगो”हरुको संगालो लाई धुनी भनिएको छ त्यस्तै सय भन्दा बढी सयौं, हजारौं “आगो”हरु तथा अनेकौं विषयमा रचित “आगो”हरुको संगालो रहेको पुस्तक वा काव्य लाई महाधुनी भनिएको छ | “आगो”को दुई पंक्तिलाई पूर्ण कविता मानिए पनि समय, विषय वस्तु र सन्दर्भले “आगो” कविता लामो रुपमा रचना गर्न सकिने स्वतन्त्रता रहेको छ | “आगो”को प्रभावकारिताको मापदण्ड पनि तोकिएको छ | “आगो” ले उठान गरेको विषयमा भएको सटीक र चोटिलो प्रहारले उत्पन्न गहनता, माधुर्यता, कटाक्ष, प्रभाव र वजनलाई थोरै बाट बढ्दो क्रममा क्रमशः “ताप, धुवाँ, कोइला, खरानी र पंचमहाभूत” गरि वर्गीकरण गरिएको छ | “आगो” सिर्जना गर्ने रचनाकार वा कवि लाई “उपाशक, पुजारी, सन्न्यासी, योगी, वा हवनकर्ता” भनी नामकरण गरिएको छ |
“आगो” विशेषताहरु:
1. पाँच पाँच अक्षरका दुई पंक्तिमा जम्मा दश अक्षर हुनुपर्ने |
2. शब्दहरु एक देखि पांच अक्षर सम्मका राख्न सकिने |
3. सके सम्म पहिलो र दोस्रो पंक्तिको कुनै न कुनै समकक्षी एक शब्दको (एकाक्षरी समेत) अनुप्राश मिलेको हुनु पर्ने |
4. संरचना अनुसार बढी शब्दहरु जोडेर एउटा शब्द वा एउटा शब्दलाई पनि बढी शब्दमा टुक्र्याइ राख्न सकिने |
5. एउटै “आगो”मा शब्द हरु दोहोरिन, तेहोरिन वा चौहोरिन पनि सक्दछन् |
6. पहिलो पंक्तिले विषयको उठान गर्ने र अर्को पंक्तिले उत्कर्ष वा बैठान/समाधान/सम्भावना दर्शाएको हुनु पर्ने |
7. दश अक्षरी “आगो”ले पूर्णता दिन्छ भन्ने मान्यता रहे पनि न्यायोचित सन्दर्भ सम्बोधनको लागि एउटै विषयवस्तुमा एक भन्दा धेरै “आगो”हरुको प्रयोग गरि पूर्णता प्रदान गर्न सकिने छ र यो अवस्थामा “मन्त्र वा लप्का” को शीर्षक पनि दिन सकिने छ |
8. कुनै वस्तु वा व्यक्तिको पहिचान विशेष हुन्छ जसलाई सम्बन्धित व्यक्ति वा वस्तुको वास्तविक यथार्थता (Real originality) भनि परिचित गराइन्छ भने जस्तै खाँटी वा आदर्श “आगो” मा २+१+२ गरि तीन शब्दको पाँच अक्षरको पहिलो पंक्ति र सोहि अनुसार दोश्रो पंक्ति वा ३ + २ वा २ + ३ अक्षरको पहिलो र सोहि अनुसारको दोस्रो पंक्ति हुनुपर्ने तथा दुबै पंक्तिको सबै समकक्षी शब्दहरुको अनुप्राश मिलेको हुनु पर्ने छ | जस्तै:
बोल्यो कि पोल्यो (२+१+२)
तोल्यो कि मोल्यो

मान्छे शहर (२+३) प्रेम उधारो
तान्छे रहर मर्न हतारो

विश्वास मत (३+२) शहर जले
निश्वास मत रहर गले
नोट: तर अन्य ५ अक्षर र दुई पंक्तिमा बेमेल संख्यामा शब्द राखी समेत “आगो”को रचना गर्न सकिने छ |
9. अरु सबै मिलेको तर बीचको एकाक्षरी शब्दको अनुप्राश नमिलेको “आगो”:
जाल र माछो
ताल को खाँचो
10. बीचको एकाक्षरी सहित अन्य तीन वटा शब्दको अनुप्राश मिलेको “आगो”:
जात न भात
गर न बात
11. दुई वटा समकक्षी अन्तिम शब्दको अनुप्रास मिलेको “आगो”:
दिन न रात
खाली छ हात
12. शब्द टुक्र्याई बनेको “आगो” तर यो सन्दर्भमा शब्द नटुक्र्याई लेखेमा पनि फरक पर्दैन |
पेट को आगो प्रेम को आगो
देउ ता जागो जले न धागो
13. दुई वटा शब्द जोडेर बनेको “आगो”: भो + गारो = भोगारो
प्रेम तगारो
बुझ्न भोगारो
14. जम्मा अक्षरमा थप घट नगरी शब्द थप घट हुन सक्ने स्वतन्त्रता भएको “आगो”: पहिलो; २+३, दोस्रो; १+१+२+१
नशा प्रेमको
के था प्रेम को ?
15. माथि उल्लेख गरिएका सबै प्रकृतिका थप “आगो” हरु:
मरें कि मारें सरें कि सारें तान्यो कि मान्यो भिना र साली
तरें कि तारें हरें कि हारें हान्यो कि जान्यो दिदी छे जाली

राम राधिका हलो को दालो हे अदालत उठ्यो नि तम्ब
कृष्ण द्वारिका गोरु को ग्वालो? के छ हालत? गयो भू कम्प

चार बेकार राजा ऊ रानी पाउमा ढोग कर्तुत कालो
चढे त्यो कार ताजा ख रानी दाउमा नाता रहेछ सालो

नवीकरण काली चरण फुक्यो बिगुल नवजीवन
छवीहरण साली हरण दुख्यो सुकुल शवजीवन

उन्को रुझान मेरो चिनारी आगो र झर आगो र झर
दन्त वझान आगो जिनारी भर न पर फरक घर
16. “आगो” शब्दलाई आलंकारिक रुपमा प्रयोग गरि विभिन्न भावमा रचित “आगो” हरु (शब्द दोहोरिएको):
बाल्छु म आगो ज्युंछु म आगो सांच्छु म आगो रच्छु म आगो
पाल्छु म आगो प्युंछु म आगो बाँच्छु म आगो भज्छु म आगो

माग्छु म आगो लाग्छु म आगो ताक्छु म आगो पाक्छु म आगो
भाग्छु म आगो जाग्छु म आगो थाक्छु म आगो भाक्छु म आगो

सल्कन्छ आगो चोली छ आगो उर्लिन्छ आगो नोट को आगो
पल्कन्छ आगो झोली छ आगो कुर्लिन्छ आगो भोट को आगो

स्वर्ग को आगो मन को राँको बलेको आगो चिसियो आगो
नर्क मा लाग्यो तन को आगो चलेको आगो खिसियो आगो

नरम आगो भुष म आगो हेर्छु म आगो झार्छु म आगो
चरम आगो तुष म आगो सेर्छु म आगो मार्छु म आगो
17. शब्द तेहोरिएको र शब्द चार पटक आएको “आगो”:
आगो झैँ आगो म धन धन आगो म आगो तन र तन
पानी झैँ आगो तँ धन गन आगो तँ आगो र तन तन
18. “आगो” को परिचय दिने “आगो” = धुनी
पांच अक्षर दश अक्षर तुक बन दी शब्द फिलिंगो
दुई लहर को हो सफर हुन्छ भन दी लहर झिल्को

द दश आगो द दश लप्का द दश धुनी कवि महान
लपका जाग्यो धुनी भो तप्का भो महाधुनी योगी समान

आगो प्रहार थोरै प्रभाव ताप बढोस बढी प्रभाव
पंच प्रभाव हुनेछ ताप धुवाँ उडोस कोइला भाव

आगो परानी रन्न सबूत आगो जलन शब्द दोहोरि
हुन्छ खरानी पन्चमाभूत हुन्छ खलन हुन्छ तेहोरी
1. समयक्रम र आगोको विकास संगै नयाँ नयाँ प्रकारका आगो हरु विकाश हुँदै जनेछन् भन्ने विश्वास रहेको छ |

लेखक ःपूर्व सैनिक कर्णेल दीर्घ बहादुर चन्द

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार