भदौ -६, स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर १ जोगि डाँडामा गरिदै आएको परम्परागत रूपमा गरिदै आएको तामाको भाडा बनाउने पेशा लोपोन्मुख अवस्थामा पुगेको छ। परम्परागतरुपमा तामाका भाडाकुडा बनाएर अर्थ उपार्जनको राम्रो माध्यम बनेको यो व्यवसाय हाल आधुनिक सिल्टी र प्लास्टिकजन्य भाडाकुडाहरु बजारमा सहजरुपले उपलब्ध हुँदा व्यवसाय संकटमा परेको हो। अहिले तामाका भाडाकुडाहरुको माग बजारमा कम रहेको देखिन्छ । जस्ले गर्दा परम्परागत रुपमा गरिदै आएको आरन व्यवसाय लोपोन्मुख अवस्थामा पुगेको हो। बैज्ञानिक दृष्टिकोणले पनि तामाको गाग्री वा भाडामा पानी राखेर पिउनु राम्रो मानिन्छ । यसरी तामाको भाडामा पानी राखेर पिउदा पानी जीवाणु रहित हुने बैज्ञानिक तथ्य समेत रहेको छ। अहिले बजारमा सजिलै पाइन सकिने सिल्टी र प्लास्टिकजन्य भाडाकुडाले गुनिलो तामाको गाग्री ओझेलमा परेको छ। तामाको गाग्री ओझेलमा पर्नुको अर्को कारण विवाह लगायतका शुभकार्यमा तामा जन्य भाडाबर्तन दाइजोको रूपमा दिने चलन हराउदै जानु पनि एक हो। केही वर्ष अघि मात्र विवाहमा दाइजोको रुपमा तामाका गाग्री , ताउलो, आरी लगायतका भाडा वर्तन दिने गरिन्थ्यो । हाल यसरी भाडा वर्तन दिने चलनको लगभग अन्त्य भएको पाइन्छ । यस्ले गर्दा पनि यो व्यवसाय संकटमा परेको देखिन्छ। प्रत्येक घरमा चार-पाँच वटा तामाका गाग्री हुने गर्दथ्यो । डोकोमा तामाको गाग्री लिएर धारामा पानी लिन जानेको लर्को लाग्ने गर्दथ्यो। हाल भने खानेपानी योजनाको कारण खानेपानीको सहजताको कारण तामाको गाग्री जोहो गर्नेहरुको सङ्ख्या न्यून रहेको पाइन्छ । तामालाइ राम्रो संग गालेर बनाइने भएकोले तामाको गाग्रीमा राखेको पानी खान राम्रो हुने तर उपभोक्ता भने प्लास्टिक जन्य भाडाबर्तनमा आकर्षित भएको र आरन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गर्न नसक्दा यो व्यवसाय धरासायी अवस्थामा पुगेको श्री कारीकोट आधाभूत बिद्यालयका अध्यक्ष मन वहादुर बिकले बताउनु भयो। कारीकोटे स्याङ्जाली तामाको गाग्री भनेर परिचित गराउने आरन व्यवसायलाई स्थानीय तहबाट पनि व्यवस्थित गर्न कुनै किसिमको पहल गरिएको भने पाइदैन । स्थानीय तहले पनि आरन व्यवसायलाई थप व्यवस्थित बनाउन आवश्यक कदम चाल्नु पर्ने देखिन्छ । आम उपभोक्ताले पनि ” पनि एक घर एक धारा” भने झै एक घर- एक तामाको गाग्रीको अवधारणा ल्याउन पर्ने देखिन्छ।
Discussion about this post