दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा घरैपिच्छे घरबास (होमस्टे) निर्माण गरिएको छ ।
त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताए । ‘हामीले यहाँ १० वटा होमस्टे सञ्चालनमा ल्याइसकेका छौं’, उनले भने, ‘अहिलेसम्म सात होमस्टे दर्ता गरेका छौं, १० वटा होमस्टे सञ्चालन गर्नेगरी तयारी गरेका छौं ।’
२०७६ सालदेखि त्यहाँका स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । त्यहाँको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्त्व अवलोकनका लागि पर्यटक आउने गरेका छन् । ती पर्यटकलाई होमस्टेको सेवा दिने गरेको स्थानीय जीवराज रेउलेले बताए ।
उनकाअनुसार होमस्टेले त्यहाँका स्थानीयवासीको आम्दानीको स्रोत पनि बढेको छ । ‘अहिले कोरोनाले गर्दा केही असहज भएको छ’, उनले भने, ‘नत्र परिवार पाल्नलाई होमस्टेले हामीलाई निकै सहज बनाएको छ ।’
होमस्टेमा जैविक खाना प्रदान गर्ने गरिएको उनको भनाइ छ । स्थानीय उत्पादन भएको रोटी, ढिँडो, सिस्नोको तरकारी, लोकल कुखुरा, दही, दूध, स्थानीयस्तरमा उत्पादन गरेको रक्सी, जाँड खुवाउने गरिएको छ । सबै जैविक उत्पादन रहेको र सोहीअनुसार पाहुनालाई खुवाउने गरिएको उनको भनाइ छ ।
उनकाअनुसार स्थानीय सादा खानालाई १२०, मासु खानालाई ३००, एक जनामात्रै सुतेको १०० लिने गरिएको छ । यो उप-महानगरपालिकाले तोकेको दर हो । होमस्टे उप-महानगरपालिकामा दर्ता भएर सञ्चालनमा ल्याइएको हो ।
उप-महानगरपालिकाको नियमानुसार आफूहरूले होमस्टे सञ्चालनमा ल्याइरहेको उनले बताए । साथै उपमहानगरपालिकाले प्रोत्साहनका लागि विभिन्न बाजागाजा, बाँसुरी, खैजडी, मादल, सारङ्गी, डेग, मगर ड्रेस प्रदान गरेको छ ।
अहिले होमस्टेका लागि विराटनगर, पाल्पा, नवलपरासी, कैलाली, नेपालगञ्ज, अमेरिकाबाट समेत पर्यटक आएर होमस्टेको आनन्द लिने गरेका छन् ।
एउटा होमस्टेमा कम्तिमा आठ जनालाई राख्न सकिन्छ । होमस्टेमा बस्दा सुरक्षाको ग्यारेन्टीसमेत आफूहरूले गर्ने गरेको उनको भनाइ छ । अहिले होमस्टेमा प्रायः शुक्रबार र शनिबार धेरै मान्छे आउने गरेका छन् ।
Discussion about this post