परम्परागत रुपमा भदौ महिनाको पहिलो मंगलबार मनाउने हरेलो पर्व लोप हुन थालेको छ । रोग र किराको प्रकोप न्युनीकरण गराउन भदौमा मनाइने हरेलो पर्व लोप हुँदै गएको छ । कृषिमा आधुनिकरण हुदै गएपछि परम्परागत शैलीमा मनाइँदै आएको हरेलो पर्व लोप हुँदै गएको हो । रोपाई सकिएपछि पहाडी क्षेत्रमा भदौ महिनाको पहिलो मंगलबार हरेलो पर्व मनाइन्छ ।
भूमि पूजा अर्थात धानको न्वारन गर्ने परम्पराको रूपमा यस पर्वलाई लिने गरीन्छ । हरेलो नगरेको धान शुभ कार्य वा धार्मिक कार्यमा अशुद्ध हुने तथा धान खेतमा रोग व्याधि नलाग्ने, रोग किराको प्रकोप कम हुने विश्वासका रहदै आएको छ ।
यसैबिच पर्वतमा किसानहरुले परम्परागत शैलिमा धान खेतमा पुगेर कुस जौ तिल तथा धुप धुवार सहित पुजा गरेका छन । मंगलबार विहानै स्नान गरेर चोखो वस्त्र लगाउने, धूप, ध्वजा सहित अन्न र गेडागुडीको बिउ भुसमा मिश्रण गरेर मकैको खोस्टामा बाबियोले बाँधेर पाती वा मियालको हाँगामा झुन्ड्याएर हरेलो पुजा गरिन्छ ।
मकैको खोस्टामा बाधेको केही समयपश्चात राम्रोसँग गेडागुडीको बिउ उम्रिएमा त्यो वर्ष धान खेति पनि राम्रो हुने विश्वास रहिआएको छ । उब्जाउ राम्रो बनाउन रोग किराको प्रकोप नहोस भन्ने कामना सहित हरेलो पर्व मनाई गरीन्छ ।
खेतको आलीमा गर्ने पूजा, धूप गर्नाले धँुवारले किरा फट्याङ्ग्रालाई निर्मुल पार्न जैविक विषादीको काम गर्ने वैज्ञानिक विश्वासपनि छ । यस्ता संस्कार र परम्पराले खेती किसानको अनुशासनलाई पनि पछ्याइरहेको हुन्छ । पहाडी क्षेत्रमा यो परम्परा हराउदै जादा नयाँ पुस्ताका युवाहरूलाई यो संस्कार बारे थाहा छैन ।
Discussion about this post