जि.के. पाण्डेय।🔰
भदौ ५
बिगतका बर्षहरूमा जनै पुर्णिमा लगत्तै निजी तथा सार्बजनिक यातायातमा तिजका गीत घन्किन थाल्थे।
बर्षायामका बिचमै भएपनि बिभिन्न संघ संस्था र समुहहरुले तिजगीत तथा नृत्य प्रतियोगिता आयोजना गर्थे।
आमा दीदी बहिनीहरू घरको सुसेधन्दा बेलैमा सकाएर आ आफ्ना समुह बनाई आफ्नै वरिपरि आयोजना हुने प्रतियोगिताको तयारीमा जुट्थे र पो तिज नजिकै आएछ भनिन्थ्यो।
पहिले शहर बजारमा मात्र सिमित दरखाने खुवाउने कार्यक्रमहरुको चलन गाउँसम्मै भित्रिसकेको हालको समयमा बिभिन्न समूह,संस्था र टोलैपिच्छे दरखाने कार्यक्रमको चाँजोपाँंजो मिलाउन के बा के आमा के दाजु के भाई के दिदिबहिनी के भाउजु बुहारी सबैजना उक्त कार्यक्रमको तयारीमा जुट्थे र पो तिज आए झैँ लाग्थ्यो।
कुनै समयमा टोलमा एउटा पनि मुस्किलले उपलब्ध हुने ब्याट्रीबाट चल्ने टेप रेकर्डरहरु लोप भए सँगै अहिले प्रत्येक घरमा उपलब्ध स्पिकरहरुमा बजेका तिजका गितहरुमा स साना नानीबाबुहरु जानि नजानी कम्मर मर्काउँथे अनी तल्लो गाउँ माथिल्लो गाउँ जतासुकै घन्किने तिजका गीतले गाउँ नै थर्किन्थ्यो र पो तिज नजिकिएको आभास हुन्थ्यो।
तिजको २/४ दिन अगाडिबाट चेलिबेटिहरु घरकी सासु आमासँग पारनको भोलीपल्ट घर फर्किने भाका मागेर माइतीघरको आँगन कुल्चिन्थे र पो तिज आएको भान हुन्थ्यो।
बर्षदिनमा एकचोटि चेलिबेटिकै लागी आउने तिजमा छोरीचेलीलाई मिठो मसिनो खुवाउन बा आमा-दाजु भाई घरमा आवश्यक सामाग्री जोहो गर्नेतिर लाग्थे र पो तिज नजिकिए जस्तो लाग्थ्यो
दरखाने दिनको लागी गाउँ भरीलाई मासु पुग्ने गरी माथ्लाघरे स्यान्दाईले पल्लो गाउँबाट घोर्ले खसि डोर्याएर ल्याउँथे र खसी मार हान्नेदिन मासु लिन टोल भरीका सबैजना एउटा घरमा भेला हुन्थे र पो तीज आउँथ्यो।
तिजको दिन बिहानैबाट नजिकैको धारा,कुवा,पधेंरीमा नुहाईधुवाइ गरिसकेर तिजको लगी नै भनेर किनेको नयाँ सारी गरगहनामा सजीएर नजिकैको मन्दिरमा देवाधिदेब महादेवको पुजा आराधनापछि गाउँभरिका आमा दीदी बहिनीहरू मन्दिर,पाटी-पौवा,चौतारीमा भेला भएर स्वरमा स्वर मिलाएर ‘हो नि बरिलै’ भाका रन्काएर एकैछिनलाई सबै दुःख पीडा भुलेर रमाउँथे र पो तिज आए झैँ लाग्थ्यो।
तर यो सालको तिजमा न यातायातका साधनहरुमा तिजका गीत नै घन्किए,न तिज गीत तथा नृत्य प्रतियोगिता दरखाने खुवाउने कार्यक्रम नै भए,न आमा भाउजुहरु माइत नै गए न दिदिबहिनिहरु माईत नै आए।
तीजको दिन गाउँभरिका सबै जुटेर दिनभर रमाइलो हुने मन्दिर,पाटी,पौवा,गाउँको मुख्य चोक,चौतारी पनी सुनसान रह्यो र चेलिबेटिहरु माईती सम्झिएर आफ्नै कर्मघरमै तिज मनाए भने सबैका आमाहरु आउँछे की छोरी भनेर बाटो हेरीरहे हेरीरहे…!!!
Discussion about this post