माघ -१, स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ टंलेहवामा लोपोन्मुख परम्परागत नाच झाम्रे नाच प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा लोप भैसकेको परम्परागत चिउरी पेल कोलको समेत उद्घाटन गरिएको छ। गत वर्षहरूमा भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको श्री टंलेहवा युवा क्लबले यो वर्ष भने लोक संस्कृती र संरचना जोगाउ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष केशर रानाले जानकारी दिनु भयो।प्रतियोगिताको उद्घाटन गाउँपालिका महा संघका सचीव तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले गर्नु भएको थियो। कालीगण्डकी गाउँपालिका मगर समुदायको बाहुल्यता रहेको र पछिल्लो पुस्ताले आफ्नो संस्कृती र संरचना भुल्दै गएको परिप्रेक्ष्यमा नयाँ पुस्तालाई पुराना संस्कृती र संरचना प्रती रुचि जगाउन , संरक्षणमा आवद्ध गराउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ। प्रतियोगितामा जम्मा 6 समूहले सहभागिता जनाएका थिए।
सहभागीहरु मध्ये फ्रेन्डस क्लब घुरडाडाको समूहले प्रथम स्थान , धुर्व ज्योति आमा समूहले द्वितीय र बारीचौरको समूहले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।
सफल समूहहरु मध्ये प्रथम स्थान हासिल गर्न सफल फ्रेन्डस क्लब समूहलाई पुरस्कार स्वरुप नगद रु १५,०००/- प्रमाणपत्र , द्वितीय स्थान हुन सफल ध्रुवज्योतिका समूहलाई नगद रु १०,०००/-प्रमाणपत्र र तृतीय हुन सफल बारीचौर समूहलाई नगद रु ५,००० र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा जन ज्योती देउरालीको समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए बेष्ट नृत्य समूह लम्बेक समूहले प्राप्त गरेका थिए।
Discussion about this post