काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड अवरूद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरूद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।
कालीगण्डकी करिडोरको मालढुंगाबाट बलेवा खण्डअन्तर्गत बाग्लुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।
उक्त पहिरोले कालीगण्डकी करिडोरसँगै बाग्लुङबाट दक्षिण भेग कुस्मिशेरा र बरेङ जाने सडकखण्डसमेत अवरूद्ध गरेको छ । यससँगै बाग्लुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको छ ।
उक्त स्थानमा दैनिकजसो पहिरो खसिरहेको छ । अहिले पहिरो पन्छाउनका लागि कालीगण्डकी करिडोर, बाग्लुङ नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै आज बिहानदेखि अवरूद्ध मध्यपहाडी पुष्पलाल लोकमार्गको बुर्तिवाङ खण्ड पहिरो पन्छाएसँगै सञ्चालन भएको छ ।
Discussion about this post