संगम अधिकारी
स्याङ्जामा कोरोना सक्रमण बढेपछि जारी गरिएको निषेधाज्ञा शुक्रबार सकिँदैछ । निषेधाज्ञाको समय अवधि समाप्तिको पुर्वसन्ध्यामा समय थप गरिएको छ । डिसिसि एमसिको बुधबार बसेको बैठकले बढ्दो सक्रमणलाई मध्यनजर गर्दै २३ गतेबाट पुन २९ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । साउन २९ गतेसम्म निषेधाज्ञा जारी रहने र अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न नगराउन भनिएको छ । अर्को निर्णय नहुँदासम्म जिल्लाभर बन्दाबन्दी यथावत राख्ने निर्णय गरिएको र राति ९ बजेदेखि विहान ५ बजेसम्म हिड्डुल समेत निषेध गर्ने गृह मन्त्रालयको आदेश अनुसार हुने समेत जिल्ला प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना प्रकाशित गर्दै बन्दाबन्दीको अवज्ञा गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड विपरित भेटिएमा कारवाही गर्ने समेत जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रिले सार्वजनिक स्थलमा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने नगराउने, भेला, गोष्ठी, सेमिनार, भोजभतेर लगायतका निषेधित क्रियाकलाप गरेको पाईए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने बताउनुभयो । यहाँका सुरक्षाकर्मी र समुदायस्तरमा समेत कोरोना भेटिएपछि साउन १३ गतेको बैठकले १० दिन निषेधाज्ञा जारी गरको थियो ।
स्याङ्जामा हालसम्म दुई सय ८२ जना कोरोना संक्रमित भएका छन् भने एक सय ९८ जना निको भएर घर फर्केका छन् । दुई जना संक्रमितको निधन हुँदा ८० जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । विहिबार फेँदिखोला गाउँपालिकाका २ जनामा संक्रमण देखिएको हो । एकजना आईशोलेसनमा खटिएका सुरक्षाकर्मी हुन भने अर्को भारतबाट आएर क्वारेन्टाईनमा बसेका हुन् । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार जिल्लाका सुरक्षाकर्मीमा सक्रमण देखिएसंगै आईशोलेसनमा खटिएका उनको पनि स्वाब लिईएकोमा सक्रमण देखिएको हो । सँक्रमित दुवैजनालाई आईशोलेसनमा राखिएको छ ।
Discussion about this post