वर्षायाममा पहिरोको कारण पहाडी क्षेत्रमा धनजनको क्षति हुने गरेको छ भने स्थानीयहरुमा समस्या परेको छ । वर्षाकै कारण स्याङ्जामा एक दर्जन बढीको ज्यान गैसकेको छ । वर्षाले घर तथा बसोबासमा क्षति पुगेपछि नागरिकलाई समस्या परेको छ ।
यसै सन्दर्भमा स्याङ्जाको गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोप पीडित तथा अति विपन्न परिवारको लागि आवास निर्माण सुरु गरेको छ ।
गल्याङ नगरपालिकाको वडा नं.१० मा आवास निर्माण सुरु गरिएको हो । स्थानीय ६ वटा युवा क्लवहरुको श्रमदान तथा गल्याङ नगरपालिकाको भौतिक सहयोगमा आवास निर्माण थालनी गरिएको हो ।
नगरपालिकाका ११ वटै वडामा प्राकृतिक विपत्तिमा परेकाहरुको आवास निर्माण गर्ने योजना बमोजिम वडा नंं. १० बाट अभियानको थालनी गरिएको नगरपालिकाले जनाएको छ ।
वडा नं.१० को पकवादीमा वर्षाको कारण घर भत्किएका र विपन्न गरी प्रथम चरणमा पाँच वटा घर निर्माण गरिने गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
नगरप्रमुख अधिकारीले विपन्न तथा प्राकृतिक प्रकोपको विपत्तिमा परेका परिवारको लागि नगरपालिकाले आवास निर्माण गरिदिने बताउँदै गरिबी निवारणको लागि प्रत्येक विपन्न परिवारको घर घरमा पुग्ने गरी स्वास्थ्य, शिक्षा,उत्पादन तथा रोजगारीका समूहगत रुपमा १४ प्रकारका योजनाहरु बनाएको उल्लेख गर्नुभयो । नगरप्रमुख अधिकारीले गाउँ गाउँमा स्थापना भएका युवा क्लवले राज्यको संयन्त्रलाई स्थानीय तहसम्म डोर्याएर नागरिकलाई सहयोग गर्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
गत साउन ११ गते पानीले घर भत्किएपछि छिमेकीको घरमा बस्दै आएका लोक बहादुर बराल घर बन्ने भएपछि खुशी भएका छन् । बस्दै आएको घर भत्किएपछि बालबच्चालाई कति दिन अर्काको घरमा राख्ने भन्ने चिन्ताले पिरोलिएका मश्राङ्गीले नगरपालिका र क्लवको सहयोगमा घर बन्ने भएपछि खुशी व्यक्त गरे । गल्याङ नगरपालिकामा ४ सय ७४ घर परिवार अति विपन्न रहेका छन् । वडा नंं. १० मा मात्र २० घर परिवार अति विपन्न रहेको नगरपालिकाले जनाएको छ । प्राकृतिक प्रकोपबाट विस्थापित परिवारको संख्या ५० रहेको छ । आर्थिक अवस्था अति नै कमजोर रहेकाहरुको लागि नगरपालिकाले आवासको व्यवस्था गर्ने जनाएको छ ।
Discussion about this post