पुस -१९
गण्डकी प्रदेशमा आज २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लाका १४७ ओटा नमूना परिक्षण गरिएकोमा २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरुमध्ये सवै भन्दा बढी कास्कीका २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने अन्य एक जना तनहुँ जिल्लाका रहेका छन् । आज थप २९ जना गरि गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको सङ्ख्या १४ हजार ६ सय ९९ पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९३ पुगेको छ । प्रदेशमा हाल ८७९ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् भने १३ हजार ६२७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । यस्तै गरि गण्डकी प्रदेशमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमण बाट मृत्यु हुनेमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नम्बर ७ कि ८२ बर्षकी महिला रहेका छन् । मृतक महिलामा पुस १३ गते कोरोना संक्रमणको पुष्टि भएकोमा हिजो बेलुका ६ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। मृतक महिलामा कोभिड निमोनिया र उच्च रक्तचापको समस्या रहेको थियो। स्याङ्जामा कोरोना संक्रमण बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ।
Discussion about this post