समुदायमा कोरोना देखिएपछि स्याङजामा जारी गरिएको निषेधाज्ञा लम्बिएको छ । संक्रमण बढेपछि साउन १३ गतेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनका लागि निषेधाज्ञा जारी गरेको थियो । संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरि एक साता थप गरिएको समय विहिबार सकिँदैछ । निषेधाज्ञाको समयअवधि सकिँनै लाग्दा कोरोना संकट व्यवस्थापन बैठकले फेरि एक साता थपेको छ । थप गरिएको निषेधाज्ञा अनुसार जिल्लामा भदौ ४ गतेसम्म निषेधाज्ञा जारी रहने छ । यो समयमा अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न नगराउन जिल्ला प्रशासनले अनुरोध गरेको छ । साथै राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल समेत निषेध गरिएको छ ।
प्रशासनले सूचना मार्फत निषेधाज्ञाको पालना नगरे वा स्वास्थ्य सुरक्षा मापदण्ड विपरित सार्वजनिक स्थलमा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने नगराउने गरेको पाईएमा कारबाही गर्ने जनाएको छ । भेला हुने, गोष्ठी, सेमिनार, भोजभतेर लगायतका निषेधित क्रियाकलाप भएमा संक्रमक ऐन २०२० तथा अन्य प्रचलित नेपाल कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रिले बताउनुभयो । त्यस्तै विहिबारदेखि लागु हुनेगरी पास वितरण कार्य समेत बन्द गरिएको प्रजिअ क्षत्रिले बताउनुभयो । कोरोना संक्रमणलाई दृष्टिगत गरी गृह मन्त्रालयको परिपत्र अनुसार विहिबारदेखि लागु हुने गरी कार्यालयबाट वितरण भैईरहेको सवारी पास वितरण कार्य अर्को सूचना प्रकाशन नहुन्जेल सम्मका लागि बन्द गरिएको समेत प्रजिअ क्षत्रिले बताउनुभयो ।
Discussion about this post