कार्तिक -२९ हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि सम्पुर्ण जनमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो ।
जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।
वैदिक सनातन सँस्कारमा तुलसी पूजाको ठूलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन सँस्कारीहरु प्रातःकालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।
हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।
यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ।
Discussion about this post