स्याङ्जाको पुतलीबजार नगरपालिकाले कम्पोष्ट मल बनाउन बाल्टीन वितरण गरेको छ । स्थानीयहरुको घर घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिकाले कम्पोष्ट मल बनाउन मिल्ने बाल्टीन वितरण गरेको हो । नगरपालिकाको ५० प्रतिशत लगानीमा करिब १ सय ५० थान कम्पोष्ट मल बनाउन मिल्ने बाल्टीन वितरण गरिएको हो ।
नगरपालिकाले कृषकहरुको चाहना अनुसार काम गर्दै आएको भन्दै नगरप्रमुख सीमाकुमारी क्षत्रीले कम्पोष्ट मलले कौसीमा तरकारी खेती गर्दै आएका कृषकहरुलाई टेवा पुग्ने बताउनुभयो । पुतलीबजारमा महिला गृहिणीहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् ।
नगरप्रमुख क्षत्रीले कम्पोष्ट मल बनाउने बाल्टीन प्रभावकारिताको आधारमा अन्य वडाका किसानहरुलाई पनि वितरण गरिने बताउनुभयो । नगरपालिकाले पहिलो चरणमा नगरपालिकाका १, ३ र १० नं.का वडाहरुमा रहेका किसानहरुलाई वितरण गरेको थियो ।
नगरपालिकाले प्रदान गरेका सेवा तथा सुविधाहरुलाई पूर्णरुपमा उपयोग गर्न कृषकहरुलाई नगर प्रमुख क्षत्रीको अनुरोध छ । उहाँले नगरपालिकाले गरेका क्रियाकलापहरुलाई सबैले सहयोग गरेर सफल बनाउनु पर्नेमा जोड दिदै रचनात्मक सुझाव दिन कृषकहरुलाई सुझाउनु भयो ।
Discussion about this post