खाडीको सन्देश : (भाग-२)

12
SHARES
97
VIEWS
            (पढाइमा निकै अल्छी गरेको प्रतीक, घरको समस्याले वैदेशिक यात्रामा निस्किएको छ। आफ्नै घर नजिकका राजन दाइसंग उ दुबई को एक सहरमा गयो। उसलाई कम्पनिमा एकजना नेपालीलाई जिम्मा लगाएर राजन त्यहाँबाट निस्कन्छन। उक्त नेपालीले बस्ने ठाउँ देखाएर फर्किन्छन। काममा गएका नेपाली दाजुभाइहरु फर्किएपछि राजन एक दलाल हुन र यहाँ नेपालीले के के दु:ख पाइरहेका छन भन्ने प्रतिकले थाहा पाउँछ। त्यसपछी के भयो होला? प्रस्तुत छ कथाको दोश्रो अंस...)

                    त्यो रात निद्राले छोप्नै सकेन। रातभर मनमा एक किसिमको डर थियो। घरबाट बाहिर नहिँडेको मान्छे म बिदेशी भुमीमा एक किसिमले अलपत्र परेको थिएँ।  बिहान उज्यालो भयो: बिकाशले भन्दै थियो आज त तिमिलाई पनि काममा जानुपर्ने होला, अलि बुझेर आएको भए हुने नी। हामी त फस्यौँ तिमी पनि अब कसरी निस्किन्छौ होला र खै। पुर्व देखि पश्चिम सम्मका धेरै साथीभाईहरु अलपत्र अवस्थामा छन। म मौन थिएँ।  त्यहाँ अर्को कोठामा एकजना माधव नामका दाइ रहेछन। घर पस्चिम दाङमा। उनले सबै कुरा सुनेपछी भने: भाइ आइहाल्यौ, छोरो मान्छे हिम्मत नहार जसो तसो केही खर्च जुटायौ भने यहाँबाट भाग्न सकिन्छ। गाह्रो त धेरै छ, हामीले पनि यहि सोंचेका थियौँ तर कम्पनी मा काम गर्यो गर्यो पैसा नै दिँदैन। खानाको लागी जसोतसो हुन्छ, त्यही पनि कहिले भोकै सुत्नुपर्छ। मैले त्यतिकैमा सोधेँ: काम के गर्नुपर्छ नि दाइ? उनले भने; कामको त कुरै नगर भाइ, ४५-५० डिग्रीको घाममा कसैले ठुला ठुला महलको माथी बालुवा बोक्नुपर्छ, कसैले एउटा रसीमा झुन्डिएर त्यही भवन निर्माण गर्नुपर्छ, कसैले बाटो बनाउनुपर्छ, धेरै काम छन भाइ कसैले भेडा चराउँछन। यहाँ यसरी अलपत्रमा ५-७ लाख नेपाली होलान भाइ। एकैछिन यस्तै दु:खद कुराहरु सुनाए र हामी छिट्टै नै काममा जानको लागी तयार भयौँ। त्यहाँबाट ननिस्किएर अलि पर पुग्दा एउटा निकै सुन्दर ठाउँ देखीयो र माधव दाइलाई भनेँ: ठाउँ त हाम्रो नेपाल भन्दा पनि सुन्दर रहेछ है दाइ? उनको जवाफ थियो; किन नहोस त भाइ; कयौँ नेपाली दाजुभाईको रगत र पसिना ले बनेको ठाउँ हो। कती नेपालीको त यहीँ मृत्यु सम्म भएको छ। यस्तै कुरा गर्दै हामी कम्पनीमा पुग्यौँ। त्यहाँ एकजना मान्छे आयो र काममा लग्यो। काम: बालुवा बोक्ने रहेछ। एउटा ठुलो निर्माणाधीन भवनको टुप्पोमा बालुवा बोकेर पुर्याउनु पर्ने, निकै अफ्ट्यारो गरि बोक्नुपर्ने थियो। थोरै पनि हलचल भएमा त्यहिँबाट खसिन्थ्यो, १० जाना नेपालीको त्यस्तैबाट खसेर मृत्यु सम्म भएको थियो भन्ने सुनेँ। एकैछिन पनि आराम नपाइने, यसरी त्यस्तो ठाउँमा काम गर्दा केही दिन त निकै गाह्रो भयो। तर के गर्नु भाग्यले ठगेपछी कसैको केही लाग्दो रहेनछ भन्थेँ। दु:ख र संघर्षले मेरो जिवनमा राम्रै ठाउँ पायो। बिहानै काममा गयो राती फर्कियो खाना पनि धेरैजसो एक छाक खायो यसरी नै जीवन अघाडी बढिरहेको थियो। घरमा चाहिँ दु:खको कुराहरु भनेको थिएन। ६ महिना पछिको कुरा हो एकदिन काममा जाँदै थिएँ, बाटोमा अचानक एकजना मानिससँग ठोकिन पुगेँ। मैले फर्किएर मलाई माफ गर्नुस( Im sorry) भनेँ। उक्त मानिसले: तपाइँ नेपाली हो? भन्दै प्रश्न गर्नुभयो। हजुर हो भन्दै उत्तर दिएँ। उहाँले आफ्नो परिचय दिँदै भन्नुभयो: मेरो नाम विक्रम नेपाली हो भाइ, म केही दिन अघि नेपालबाट यहाँ घुम्न भनेर आएको थिएँ। मेरो साथीले यहाँको समस्याको बारेमा बतायो, यो क्षेत्रमा नेपालीहरुको गैरकानुनी बसोबास छ भन्ने थाहा पाएँ  त्यसैले केही बुझौँ, नेपालीहरुको दु:खलाई हेरौँ र भेटौँ भनेर यता आएको भन्नुभयो। त्यसपछी मैले आफ्नो र मसंग रहेका सम्पुर्ण साथीहरुको दु:ख उहाँलाई सुनाएँ साथै घरको समस्या हरुपनी भनेँ। उहाँले मलाई आफुसंग हिँड्न भन्नुभयो, तर कामको कारण म हिँड्न नसक्ने बताएँ। उहाँले फेरि थप्नुभयो: त्यो काम आजदेखी छाडिदेउ, मसँग हिँड र अरु साथीहरूलाई भेट गराउ तिमिलाई म काम दिलाइदिउँला। उहाँको त्यो कुरापछी एक मनले सोंच्यो कतै फेरिपनि फस्ने त होइन, फेरि सोचेँ: यहाँ पो के राम्रो काम पाएको छु र! म जान सहमत भएँ।  त्यसपछि हामी म बसिरहेको ठाउँमा गयौँ। कोही साथिहरु काममा गइसकेका रहेछन, कोहि जान बाँकी थियो।  विक्रम सरले सबैको स्थिती हेरेर सबैसँग कुराकानी गर्नुभयो, कोहि साथीका हात काटिएका, कसैको खुट्टामा समस्या, कोहि मानसिक तनाबमा, खानु लाउनु छैन यो सबै दु:ख एकदमै गहिरिएर हेर्नुभयो र सबैलाई विश्वस्त पार्दै भन्नुभयो: पिर नगर्नुहोस म आफुले सकेको प्रयास गर्नेछु। 

निस्कने बेलामा मलाई जाउँ भन्नुभयो। कहाँ जाने सर? मेरो जिज्ञासा थियो। तिमी अहिलेलाई मसँग हिँड भन्दै मलाई लिएर हिँड्नुभयो। केहिबेरको यात्रापछी हामी उहाँ बसेको ठाउँमा पुग्यौँ, एउटा ठूलो भवनको आठौं तालाको निकै सुन्दर कोठाहरु। उहाँको साथीसंग मेरो परिचय सहित मैले भोगेको दु:ख सबै सुनाउनु भयो। उहाँको नाम सागर पौडेल रहेछ र त्यहाँ सुपरभाइजर को रुपमा काम गर्नुहुँदो रहेछ। मेरो सबै कुराहरु सुन्दा उहाँका आँखा रसाएका थिए। भन्नुभयो; यहाँको दु:ख अधिकांश नेपालीको यस्तै हो भाइ। यहाँका नागरिकमा त त्यति मानवता छैन तर निकै दुखको साथ भन्नुपर्छ आफ्नै नेपाली दाजुभाइ र चिनजानकै आफ्नो मान्छेले पैसाको लागी ठगिरहेको छ। म पनि त्यस्तै ठगिएरै यहाँ आएको हुँ भाइ। धेरै समय मैले पनि यता उता भौतारिदै त्यस्तै दु:ख भोगेर कर्म गरेको थिएँ। त्यहाँबाट भागेर कति दिनसम्म त भोकभोकै पनि बस्नुपर्यो। पछि एउटा ठाउँमा अलि राम्रो काम पाएँ र स्थितीमा थोरै सुधार आयो। लामो समयको संघर्षपछि सुपरभाइजर हुने अवसर मिल्यो। लाखौं नेपालीको यस्तो अवस्था देख्छु तर के गर्नु सबैलाई आफैले मात्र गर्न सकिँदैन। लाखौँ नेपालीको मिहिनेतले यो सहरलाई यति सुन्दर बनाएको छ भने, यहि मिहिनेत देश र समाजमा हुने भने हाम्रो नेपाल कति सुन्दर हुन्थ्यो होला तर के गर्नु नेपाली समाज आफ्नैलाई ठग्न र अरुको आलोचना गर्नमै तल्लिन छ। मैले भनेँ: निकै मार्मिक कुरा गर्नुभयो दाइ।पढेको भए आफ्नै देशमा केही गर्न सकिन्थ्यो होला, पढाइमा अल्छी गरेँ पछि यस्तो भयो। मेरो कुरा सुनेर विक्रम सरले भन्नुभयो: पढाइले मात्रै पनि केही हुने होइन भाइ, देशमा शिक्षित बेरोजगारी धेरै छन र पढेकै ब्यक्तिहरु पनि बाहिर आउन विवश छन। शिक्षा प्रणाली नै गलत छ। यसलाई सुधार गर्न हाम्रो पहुँचले भेट्दैन, सरकारी तहबाटै केही हुनुपर्छ। म तिमिलाई दुईवटा पुस्तक दिन्छु अल्छी नगरी त्यो अध्यन गर। मैल हुन्छ सर भन्दै टाउको हल्लाएँ। फेरि प्रश्न गर्नुभयो: तिमिले बच्चा देखि आजसम्म याद गर त, तिमिलाई सबैभन्दा रुचि लाग्ने कार्य के थियो। म एकैछिन गहन बिचार गरेँ र भनेँ: मलाई गीत गाउनमा निकै रुचि थियो। तर मेरो स्वर त्यति मिठो नभएर साथिहरु गिज्याउँथे। त्यसपछि मलाई एउटा गित गाउन पनि भन्नुभयो। म नेपाली भाकाको “देउरालीमा धजा, भन्न त भन्थ्यौ आमा घर छाडेर नजा” बोलको गित गाएर सुनाएँ। यस्तै गर्दै धेरै प्रश्न उत्तर हरु भए, उहाँले प्रश्न गर्नुहुन्थ्यो म जवाफ दिन्थेँ। त्यसपछि सागर सरले भन्नुभयो: भाइ प्रतीक, उनि मेरो साथी बिक्रम अन्तरास्ट्रिय स्तरको प्रेरणा प्रदान गर्ने ब्यक्ती हुन। यहाँ नेपाली श्रमिकहरुलाई प्रेरणा दिनको लागी मैले विशेष निम्तो गरेको थिएँ। यहाँ आएपछि उनले सम्पुर्ण श्रमिक हरुको जिवनशैली र बसोबास स्थान हेरेर मात्रै कार्यक्रम गर्ने कुरा उल्लेख गरे अनि आफै यो घाममा हिँडेर बासस्थान हेर्न जाँदै थिए तिमीसंग भेट भएछ। सागर सरको यो कुराले मलाई निकै खुसी बनायो। त्यतिन्जेल बिक्रम सरले मलाई २ वटा पुस्तक हातमा राख्दिसक्नु भएको थियो, उक्त पुस्तकहरु उहाँ आफैद्वारा लेखिएका रहेछन। पुस्तक दिएपछि भन्नुभयो: मेरो ४ दिनको कार्यक्रम छ यहाँ त्यतिन्जेल तिमी यहीँ बस। म बाहिर जानु छ, अझै धेरै नेपालीहरुको जीवनशैली हेर्नू छ, सागर यहिँ छन तिमिसंग। त्यसपछि बिक्रम सर बाहिर निस्कनु भयो। म र सागर सर अन्य धेरै कुराहरु गर्दै त्यहिँ बस्यौँ। उहाँले सोध्नुभयो: भाइ अब राम्रो जागीर पायौ भने के गर्छौ? यहिँ बस्ने या खर्च जुटाएर नेपाल फर्किने?
आँखामा एक किसिमको उज्यालो चमक सहित मेरो उत्तर थियो……..
क्रमशः

के उत्तर दियो होला त प्रतिकले? नेपाल फर्किने योजना बनाउला या अरु केही काम नै खोजी गर्ला त?
यसको उत्तर सम्पुर्ण पाठकले कल्पना गर्दै गर्नुहोला, आगामी तेस्रो तथा अन्तिम भाग आउँदो सोमबार साँझसम्म प्रकाशित गर्नेछु।

(कथा कल्पना गरिएको भएपनी यसभित्रको दु:ख र नेपालीले बिदेशमा भोग्ने पीडा भने धेरै सत्यता नै छ)

✍️लेखक: बिराज घिमिरे (भुमिकास्थान-९, ढिकुरा, अर्घाखाँची)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार