असोज-२१, स्याङजामा प्रहरीले दुईथान अवैथ भरूवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ६ काउले सिमलबोटका ६६ वर्षका थमन गुरूङ र काउले किराखोरका २० बर्षिय सुजन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
थमन गुरूङको साथबाट ईजाजत पत्र नभएको एकथान अवैध १ नाले भरुवा बन्दुक, एक थान भरूवा बन्दुकको नाल (व्यारलको भाग), बारूद १४५ ग्राम, टिनको स–साना पाता ११ वटा, पाँच थान केपस र साना काचो सिसा १५६ वटा बरामद गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । यस्तै अर्को व्यक्तिसँग ईजाजत पत्र नभएको एकथान अवैध १ नाले भरुवा बन्दुक बरामद गरिएको छ ।
दुवै जनासँग अवैध भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुको घरमा पुगेर खानतलासी गर्दा
दुवैको घरबाट उक्त सामान बरामद गरिएको डिएसपी अधिकारीले बताउनुभयो । दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
Discussion about this post