मङ्सिर -५ , स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छाँप दब्छे सुलसुले सडक खण्ड कालोपत्रे हुने भएको छ। कालीगण्डकी गाउँपालिकाको भित्री सडक खण्डमा पहिलो पटक सडक कालोपत्र गर्न लागिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। प्रदेश सरकार र गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत करीब रु ६ करोड ६० लाख लागतमा उक्त ३ किलोमीटर सडक खण्ड कालो पत्र हुन लागेको कालीगण्डकी गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो। सडकखण्डलाइ कालोपत्र गर्नका लागि सिएम एन्ड बिएन जेभीले निर्माणको जिम्मा लिएको प्राबिधिक शाखाका प्रमुख आचार्यले जानकारी दिनुभयो । बर्षाको समयमा अत्याधिक हिलो र चिप्लो हुने र हिउँदमा धुलो हुनेभएकोले सो सडक खण्डमा यात्र गर्न कठिन हुँदै आएको छ। सडक खण्ड कालोपत्रे गरिए पश्चात् यस भेगका जनताहरुको आवागमनमा सहज हुने कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लिलाबल्लभ अधिकारीले बताउनुभयो ।
Discussion about this post