सुमन महतारा,मंसिर-१५गुल्मी। जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
उक्त अस्पतालको एक कार्यक्रमका बीच सोमबार लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले गाउँमै अस्पताल निर्माण भएपछि जनताहरुलाई स्वास्थ्य उपचारको लागि टाढा जान नपर्ने बताए । उनले यसरी गाउँमा अस्पताल निर्माण गर्न लाग्दा निकै ठूलो अवसर पाएको बताए ।
छिट्टै समयमै निर्माण कार्य सम्पन्न गरि सेवा प्रदान गर्न गाउँपालिकालाई आग्रह गर्दै उनले सबै मिलेर स्थानीय स्तरमै रोजगारको पनि सिर्जना गर्ने बताए । ‘ स्थानीय, प्रदेश र संघीय सरकार मिलेर विकास निर्माणका कार्यमा जुटौं’, उनले भने, ‘हामी सबैले सहकार्य गरेर विकास निर्माणका कार्यहरु अगाडि बढाउनुपर्छ ।’
गाउँपालिका अध्यक्ष अशोककुमार थापाले स्थानीय सरकार आएपछि यहाँका हरेक स्थानमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारका लगायतका महत्त्वपूर्ण कामहरु गरिएको बताए । गाउँपालिकाको सबै वडामा सुबिधा सम्पन्न अस्पतालहरु भएको उल्लेख गर्दै उनले भने, ‘ हामी अब गाउँपालिकामा एमबीबीएस डा. ल्याउने प्रयासमा छौं ।
दीर्घरोगीहरुलाई गाउँपालिकाले नि: शुल्क औषधि उपलब्ध गराएको छ ।’ कोभिड-१९ को कारणले विकास निर्माणका कार्यहरु छिट्टै सम्पन्न हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘ अब यो अस्पताल निर्माण भएपछि हामी औषधि उपचार गर्न टाढा जान पर्दैन ।’ आफ्नै कार्यकालमा अस्पताल सम्पन्न गरेर सेवा प्रदान गर्ने अध्यक्ष थापाको भनाई थियो ।
उक्त अस्पताल निर्माण गर्नको लागि आवश्यक पर्ने ७.५ रोपनी जग्गाको व्यवस्थापन गाउँपालिकाले मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । कुल १८ करोड लागतमा अस्पताल निर्माण गरिने जानकारी दिंदै पाण्डेले भने, ‘ निर्माण कार्यको प्रारम्भिक चरण अगाडि बढाउनको लागि अर्थ मन्त्रालयबाच १ करोड ४४ लाख रकम प्राप्त भएको छ ।’
गाउँपालिकाले गर्भवती र सुत्केरी महिलालाई केन्द्रित गरेर यसै वर्षदेखि ‘कस्तो छ आमा ? ‘ कार्यक्रम सन्चालनमा ल्याएको जनाएको छ । गर्भवती र सुत्केरी महिलाको स्वास्थ जाँच गरि एक क्यारेट अण्डा, क्याल्सियम, आयोडिन नुन, साबुन, नङकट दिँदै आएको पनि पाण्डेले बताए । त्यस्तै उनले गर्भवती महिलाको लागि स्वास्थ्य उपचारमा ध्यान दिनको लागि लेखिएको बाबालाई चिठी, गर्भवती निवास भनेर लेखेको हरियो झण्डा गर्भवती भएको महिलाको घरमा राखिदिंदै आएकाे बताए ।
गाउँपालिकाले टोल-टोलमा प्राथमिक उपचार कार्यक्रम गर्दै अहिले पनि निरंतरता दिँदै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले बताए । उनले महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा गरिएको बताए ।
गाउँपालिकाले ८३ वटा स्वास्थ्य आमा समुह पूनर्जागरण गराई प्रवर्द्धनात्मक र प्रतिकात्मक स्वास्थ्य सेवालाई प्रभावकारी बनाएको छ । किशोर किशोरीहरुलाई लक्षित गर्दै सबै माध्यमिक विद्यालयमा जनसंख्या कार्यक्रम संचालन गरि किशोरावस्थामा हुने शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक परिवर्तनको कारणले हुन सक्ने समस्या समाधान गर्ने प्रयास गरिएको अर्यालले उल्लेख गरे ।
अहिलेसम्म गाउँपालिकाका ४ वटा वडामा वर्थिङ्ग सेन्टर संचालन गरिएको छ । गाउँपालिकाको वडा नं.१,२,४ र ७ मा वर्थिङ्ग सेन्टर सलन गरिएको अर्यालले जानकारी दिए । उनले नि:शुल्क आँखा, नाककान, घाँटीको अप्रेसन शिविर संचालन गरिएको उल्लेख गरे ।
प्रत्येक वडामा विशेषज्ञ सेवा सहित जेष्ठ नागरिक र महिलाहरुलाई लक्षित गरि भिडियो एक्सरे, प्रयोगशाला सेवा, इसिजी, नि:शुल्क औषधि वितरण लगायतका सुबिधा सहित एकिकृत स्वास्थ्य शिविर संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए ।
Discussion about this post