१९ मंसिर, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन तीब्र पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अगाडि बढाइएको छ । १२ वटा स्थानीय तहमध्ये गुल्मीदरवार र धुर्कोट गाउँपालिकामा विवरण दर्ता संकलन सकिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।गुल्मीदरवारमा ११ हजार ९०५ र धुर्कोटमा १० हजार ७७० जनाको विवरण संकलन गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकामा दर्ता संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल यो काममा ६० जना खटिएका छन् ।राष्ट्रिय परिचयपत्र प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचानसहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।यसमा व्यक्तिको नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान–श्रीमतीको नाम, स्थायी–अस्थायी ठेगाना आदि समावेश हुन्छन् । त्यस्तै औँठाछाप, दुईवटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर पनि समावेश हुन्छ ।राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाईं सराइ गरेकाको बसाईंसराइको सक्कल कगजपत्र चाहिन्छ ।
Discussion about this post