यम सोमै
फागुन -२३ स्याङ्जाको कालीगण्डकी गाउँपालिका चण्डी भञ्ज्याङ् र गुल्मीको रुरुक्षेत्र गाउँपालिका रिडी जोड्ने मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु भएको छ। परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवाली तथा पशुपन्छी तथा कृषि विकास मन्त्री पद्मा अर्यालको विशेष पहलमा उक्त पुलको निर्माण कार्य पुनः सुरु भएको हो। पुल निर्माण कार्य पुुुनः सुरु भए पश्चात् स्थानीय जनतामा खुसी छाएको छ। मन्त्रीहरुले विशेष पहल देखाएको कारण उक्त पुलको निर्माण कार्य सम्पन्न हुनेमा जनतामा आशा पलाएको छ।
गण्डकी प्रदेशको चण्डी भञ्ज्याङ् र लुम्बिनी प्रदेशको रिडी जोड्ने मोटरेबल पुल निर्माणको क्रममा बिच भागको पिल्लर राख्ने स्थानमा चट्टान भेटिएको कारण निर्माण कार्य रोकिदै-पुनः सुरु हुँदै आएको थियो।
पुल निर्माणका सम्बन्धमा निर्माण कम्पनी , स्याङ्जाका जनप्रतिनिधि तथा राजनीतिकर्मी र गुल्मीका सरोकारवालाहरु संग बृहत तथा गम्भीर छलफल भएको थियो । छ्लफलबाट चट्टान रहेको स्थान भनिएको ठाँउको इआर्टी परिक्षण गर्ने निर्णय भएको थियो। उक्त निर्णय अनुरुप सो स्थानको इआरटी परिक्षण गरिएको थियो। परिक्षणको रिपोर्टमा उक्त स्थानमा चट्टान भए पनि चट्टान काट्न सकिने निष्कर्ष निकालिएको स्वछ्न्द निर्माण कम्पनीका साइट म्यानेजर बलराम पन्थीले जानकारी दिनु भयो।
आफुहरुले बिच भागको पिल्लरमा चट्टान भेटिएको कारण कामनै रोक्न परेको बताउदै साइट म्यानेजर पन्थीले इआरटी परिक्षण सकारात्मक आए पछि सो स्थानको चट्टान कटानकालागि भारतबाट चट्टान काट्ने औजार मगाइएको बताउनुभयो । गत एक हप्ता देखि निर्माण कार्य सुरु गरिएको र नेपालमा उक्त स्थानको चट्टान काट्ने मेसिन नभएकोले आफुहरुले बाहिरबाट मगाउन परेको र उक्त स्थानको चट्टान काटेर काम अगाडि बढाउने निर्माण कम्पनीले जनाएको छ।
हाल कालीगण्डकी गाउँपालिकामा वैघा रिडी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको अवस्थामा स्याङ्जा र गुल्मी जोड्ने पुल निर्माण नहुदा यस भेगका जनतामा नकारात्मक संदेश जाने भएकोले पुल निर्माणमा सहजीकरणका लागि आफु लागि परेको कालीगण्डकी गाउँपालिकाका नेकपा अध्यक्ष एवम् श्री जनहित माविका बिद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण लामिछाने मगरले बताउनुभयो ।
अलपत्र अवस्थामा रहेको उक्त पुल निर्माणका लागि गुल्मी जिल्लाको तर्फबाट आफु लागिपरेको नेकपा गुल्मी जिल्ला सचिवालय सदस्य तथा नेकपा रुरुक्षेत्र गाउँपालिका इन्चार्ज हिमाल श्रेष्ठले बताउनु भयो।
हाल कालीगण्डकी करिडोर , स्याङ्जा पाल्पा र गुल्मी जोड्ने तीन मुखे पुल तथा रिडी खोला र कालीगण्डकी नदिमा बाध निर्माण कार्य तिब्र गतिमा अगाडि बढेको समेत श्रेष्ठले जानकारी दिनु भयो।
Discussion about this post