चुरामणि तिमिल्सिना
फागुन -२४। १११ औ अन्तर्राष्ट्रिय महिला दिवसको पावन अवसरमा देशै भरि आज विविध कार्यक्रमहरु आयोजना गरिएको छ। यसै क्रममा नारी दिवसको अवसरमा गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ बिशुखर्कमा पनि एक औपचारिक कार्यक्रमको आयोजना गरिएको छ। औपचारिक कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष टंक बहादुर क्षेत्रीको प्रमुख आथित्यता रहेको थियो।
स्थानिय जुझारु नेत्री बिष्णु गौतमले कार्यक्रममा स्वागत मन्तव्य राख्दै महिलाहरुले भोग्दै आएका हरेक समस्यालाई सरकारले बेवास्ता गरेको बताउनु भयो। महिला वडा सदस्य कोपिला गौतमको अध्यक्षता रहेको कार्यक्रममा सामाजिक अभियानता युवराज केसी, अप्सरा गौतम , तुल्सी गौतम तथा दलित समुदायका तर्फबाट देवी विश्वकर्माले महिलाका विषयमा गरेका कामको चर्चा गर्नु भएको थियो।
“नारीको सुरक्षा , सम्मान र रोजगार, समृद्ध नेपालको आधार ” जस्ता नारा लगाएर कार्यक्रमको पूर्वसन्ध्यामा प्रभातफेरी कार्यक्रम गरिएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव दुर्गा प्रसाद शर्माले गर्नु भएको थियो।
Discussion about this post