वैशाख -२३
नेपालमा दोस्रो चरणको कोरोना संक्रमण तीब्र रुपमा फैलिएसंगै स्याङ्जाका स्थानीय तहले पनि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् । समुदाय स्तरमा कोरोना संक्रमण फ़ैलिने क्रम सुरु भए पश्चात् स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ।
गाउँपालिकामा पनि कोरोना संक्रमितको सङ्ख्या दिन प्रती दिन बढ्दै गएकोले लक्षण सहितका संक्रमितहरुलाई राख्नका लागी पालिकाले १६ वटा बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।
पालिकाको वडा नम्बर ७ मिर्मीमा अवस्थित उक्त आइसोलेसन सेन्टरमा हाल १० जनालाई राखिएको र ऊनीहरुको अवस्था सामान्य रहेको समेत प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनु भयो। अवस्था गम्भीर भए अन्यत्र रिफर गरिने बताउदै ज्ञवाली बाहिरबाट आउने जोसुकैले पनि अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सम्बन्धि कुनै प्रकारको जटिलता आए पालिकालाई खबर गर्न समेत आग्रह गर्नु भयो। कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता हालसम्म कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। अन्य पालिकाले जस्तै कालीगण्डकी गाउँपालिकाले पनि दैनिक एन्टिजेन बिधीबाट कोरोना परिक्षण गर्दै आएको छ।
Discussion about this post