वैशाख -२२
स्याड्जा-कोभिड-१९ को दोस्रो लहर देशभरि बढ्दै जाँदा दैनिक जनजीवन जटिल बनिरहेको अवस्थामा स्याड्जामा पनि कोभिड सङ्क्रमित बिरामीहरु दैनिक रुपमा बढिरहेका छन् । आज वैशाख २२ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको छ भने ५ जना सङ्क्रमितको ज्यान गएको छ । यही परिस्थितलाई मध्यनजर गरी पुतलीबजार नगरपालिकाले नगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । स्याङ्जामा कोरोना सङक्रमितको सङ्ख्या बढेको भन्दै सो निर्णय गरिएको जनाइएको छ ।
पुतलीबजार नगरपालिका र वडा कार्यालयहरुबाट सम्पादन हुने स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, दमकल लगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु अर्को व्यवस्था नभएसम्मको लागि बन्द गर्ने निर्णय गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माद्वारा जारी सूचनामार्फत् नगरबासीलाई कोभिड-१९ बाट जोगिन संवेदनशील भइदिनका लागि सबै अनुरोध समेत गरिएको छ ।
यस्तै पुतलीबजार नगरपालिकामा कक्षा ८ को पूर्व निर्धारित परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ भने विद्यालय तहका अन्य सम्पूर्ण परीक्षाहरु तत्कालका लागि स्थगित गरिएको परीक्षा समिति सदस्य-सचिव गोविन्दराज सुबेदीद्वारा प्रेषित सूचनामा जनाइएको छ ।
Discussion about this post