जेठ -१९
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ करन्डाडामा अक्सिजन सहितको कोरोना अस्पताल निर्माण गर्ने बिर्घाका युवाहरूको सपना साकार बन्दै गएको छ। सामाजिक संजालको फेसबुक समूह हेल्लो बिर्घाका एड्मिन समूहले सुरु गरेको “गाउँमै अस्पताल, समयमै उपचार” अभियान यति खेर अन्तिम चरणमा पुगेको छ।
अभियान सुरु भए पश्चात् बुधबार सम्ममा २२ लाख १० हजार १५९ रुपैयाँ रकम जुटेको हेल्लो बिर्घाले जनाएको छ। हेल्लो बिर्घाबाट प्राप्त जानकारीका अनुसार स्वास्थ्य उपकरणसहितका सामग्री पनि सहयोगस्वरूप प्राप्त भएका छन्।
६ वटा शय्या, १२ थान अक्सिजनका सिलिण्डर, कन्सन्ट्रेटर मेसिन एक थान, ह्वीलचेयर एक थान, रक्तचाप र मधुमेह परीक्षण गर्ने मेसिनसहितका विभिन्न उपकरण र औषधिसमेत प्राप्त भएको हेल्लो बिर्घाले जनाएको छ। सहयोग आउने क्रम जारी रहेको छ।
कोभिड -१९ का कारण समयमै उपचार नपाउदा धेरै जनाले ज्यान गुमाउनु परेको भन्दै हेल्लो बिर्घाले अनलाइन वेबिनार गरेर यो अभियानको घोषणा गरेको थियो। कालीगण्डकी गाउँपालिकाका वडा नम्बर १,२,३ र ४ का बासिन्दाहरुलाई लक्षित गरि अस्पताल निर्माण गर्ने अभियानमा देश तथा विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ।
हेल्लो बिर्घा टिमको तर्फबाट सहयोगी सवैलाई आभार एवम् कृतज्ञता व्यक्त गर्दै हेल्लो बिर्घाले विभिन्न ठाउँमा रहनुहुने कालीगण्डकी बासिहरुले स्वस्फूर्त रुपमा गरेको कारण यो काम संभब भएको जानकारी दिएको छ।
Discussion about this post