असारबाट लकडाउन खुकुलो पार्ने सरकारको तयारी

17
SHARES
139
VIEWS

जेठ -२५ विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएकाे निषेधाज्ञाकाे आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्याेल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने काम भइरहेको जानकारी दिनुभयो ।

यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुजडाउन’ लागू गर्ने योजना छ, देशभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ, दाहालले भन्नुभयो, केही सहजीकरण भने पक्कै हुनेछ ।

सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ । 

कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाइएकाे निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा बढेसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ । सोमवार झन्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार चार सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको र ६ हजार नाै सय ५१ सङ्क्रमित निको भएका छन् । त्यही अवधिमा कोरोनाबाट ९२ जनाको ज्यान गएकाे छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तीमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । ज्यान गुमाउनेकाे सङ्ख्या तीन अङ्कको थियो ।

कोरोनाको पहिलो लहरमा लगाइएकाे लकडाउन एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपालि भने त्यो गल्ती नदोहोरिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा बिस्तारै खुकुलो पार्दै लगिने छ । त्यस अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने अझै खुल्ने छैन ।

मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भन्नुभयो, दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल, बिउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्ण स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ । निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ । त्यसैले पनि एकैचोटि खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि रहेको छ । काठमाण्डाैका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे यो हप्ताकाे समीक्षाका आधारमा उपत्यकाको निषेधाज्ञाको निर्धारण हुने बताउनुहुन्छ । पछिल्लो समयमा सङ्क्रमण घटेकाले पनि केही खुकुलो हुने आशा आमनागरिकले पनि लिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार