लेखक – बिराज घिमिरे
बर्खायामको समय, बिहानै देखी मनमा एक किसिमको डर पैदा भएको थियो। भर्खर भैंसीलाई घाँस काटेर ल्याउँदै थिएँ आमाले बोलाउँदै भन्नुभयो; छोरी सुस्मिता, एस.एल.सी. को नतिजा प्रकाशित भन्छ त रेडियोले, के हो बुझ बुझ। म हतारिदै गएर साथी प्रकृतिलाई फोन गरेँ। उसले भन्दै थिइ ” खै, बिहानै देखी मन आत्तिइरहेको छ, आयो भन्छ एकैछिनमै थाहा हुन्छ रे।” हस आएपछि भन है भन्दै फोन राखेँ। परिक्षा केन्द्र निकै कडा, त्यसमाथि प्रश्नहरू निकै गाह्रो भएकोले नतिजा खासै राम्रो आउला भन्ने आशा थिएन।
स्कुलको प्रधानाध्यापक सरले फोन गर्नुभयो, डरै डरमा फोन उठाएँ। सरले भन्नुभयो: ‘छोरी सुस्मिता, हाम्रो स्कुललाई तिमी प्रती गर्व छ। आज तिम्रो कारण हाम्रो स्कुल पहिलो पटक अर्घाखाँची जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।’ सरको खबरले हर्षको सिमा नै रहेन।
सधै सदरमुकाम सन्धिखर्क आसपासका स्कुलहरुको उत्कृष्ट नतिजा आइरहेकोमा, ढिकुराको ‘शारदा माध्यामिक बिद्यालय’ अगाडी आउला भन्ने कसैलाई आशा समेत थिएन। गुच्छा, पातको चुङ्गी, कपर्दी र डन्डिबियो संगै खेलेर हुर्केका साथिहरु, घरपायक पर्ने स्कुलमा पढाइ राम्रो छैन भन्दै ‘गौरीशंकर इङलिस बोर्डिङ स्कुल’, सन्धिखर्कमा गएकाहरुका लागी गाउँबाटै ८८.१२% ल्याएर म उदाहरण साबित भएकि थिएँ। पारिवारिक स्थिती त्यति बलियो थिएन, आमाले ढिकुरा मै रहेको ‘श्री जयन्ती प्राथमिक बिधालय’ मा बाल शिक्षामा अध्यापन गर्नुहुन्थ्यो भने बुबाले कृषि कर्म गर्नुहुन्थ्यो। म भन्दा तल एउटि बहिनी र भाइ पनि भएकोले उनिहरुको पनि शिक्षा हेर्नुपर्ने थियो। नतिजा राम्रो भएकोले सम्पुर्ण शुभचिन्तक हरुले विज्ञान पढ्न सल्लाह दिनुहुन्थ्यो तर मलाई भने सानै देखी कलाकारितामा ईक्षा, सामान्य बिसयमा माथी उठ्ने र धेरै ब्यवहारिक ज्ञान लिन मन थियो। अन्तत: आमाको पहलमा म बुटवलमा विज्ञान पढ्न जाने निर्णय भयो। ३-४ दिनमै केही खर्च जुटाएर बुटवल प्रवेश परिक्षा दिन जाने तयारिमा जुटेँ। ठुलोबुवाको छोरी बुटवल बहुमुखी क्याम्पसमा अध्यन गर्दै हुनुहुन्थ्यो, उहाँले आमासँग म सहयोग गरौँला पठाउनुहोस भन्नुभयो। अर्को दिन पहिलो पटक म घर छाडेर बाहिर जाँदै थिएँ, रातभर निद्राले छुनै सकेन।
बिहान मसँगै आमा र बहिनिको आँखामा आँसु भरिएको थियो। बुबाको सन्धिखर्क जाने काम रहेछ। आँखाबाट आँसु खस्नै खोज्यो, आफुलाई नियन्त्रणमा राखेर आमालाई निस्किएँ है भन्दै बुबा सँग म घरबाट हिँडे। धेरै कुराहरु गर्दै हामी सन्धिखर्क कारागार नीर गएर गाडी कुर्यौँ। केहिबेरको कुराइ पश्चात् एउटा बस आयो र बुबाले गाडिवालासंग पहिलो पटक जाँदै छे राम्रोसँग लग्नुहोस है भन्दै मलाई गाडिमा चढाउनु भयो। बसले आफ्नो गति लियो, सहचालकले त्यो खाली सिटमा बस्नुहोस भन्दै ठाउँ देखाउनु भयो। झ्याल तर्फको सिटमा एकजना दाइ हुनुहुन्थ्यो, मैले उहाँलाई दाइ म त्यता बस्छु नि ल भनेँ।
अलि अफ्ट्यारो मान्दै सिट छाडिदिनु भयो। गाडिमा उहि घरको याद: आमाले हिँड्ने बेला भनेको कुरा दिमागमा खेल्यो: ‘छोरी सहरमा त कसैलाई बिश्वास गर्न सकिदैन भन्छन, कसैले केही जालझेलमा फसाउला, तँ ठुली भएँ भनेपनी हाम्रो लागि अझै सानै छेस।’ त्यस्तै बहिनीले; दिदी घरमा छँदा कति झगडा गरियो अब त म पनि पराइ जस्तै हुन्छु होला है भनेको याद आइरहेको थियो। बन्द आँखामा यस्तै कुराहरु सोचिरहेको बेला: नोकियाको c1 सेटमा घण्टि बज्यो ‘तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ’ झसङ्ग हुँदै फोन हेरेँ आमाको फोन रहेछ। नानी कहाँ पुग्यौ भन्नुभयो।
घुम्टी बाट अगाडी लागेँ आमा, ल राम्रो संग जाउ दिदिलाई फोन गर्दै जानू भन्नुभयो, हस आमा भन्दै फोन राखेँ। यत्तिकैमा एउटा आवाज आयो: बहिनी बुटवल सम्मै? गाडीको सहचालकले पैसा उठाउँदै आएका थिए। दाइ कति हो भाडा? ‘२८० हो बहिनी’ उनको उत्तर थियो। उनलाई पैसा दिएँ र टोलाएर बाटोमा हेरिरहेकी थिएँ, त्यसको एकैछिनमा फेरि एउटा आवाज आयो: ल दर्शन गर्ने खाजा खाने गरौँ है छिटो छिटो।
अर्घाखाँचीको एक प्रमुख र प्रशिद्व धार्मिक स्थल सुपादेउराली मन्दिर अगाडी गाडी रोकियो। बसबाट सबैजना झर्नु भयो, चिनेको कोहि थिएन अफ्ठ्यारो मान्दै म पनि झरेँ । बाह्य जिल्लाहरुबाट पनि मानिसहरू दर्शनको लागि आएकोले मन्दिरमा केही भिड थियो। त्यहिपनी छिटो छिटो गरेर दर्शन गरेँ अनि फर्किएर आफ्नो सीटमा बसेँ। केही समयमै गाडीले पुनः आफ्नो गति लियो। मन्दिरबाट केही अगाडी लाहुरे बजार पुगेकी थिएँ।
अगाडिको दिदिले आफ्नो छोरालाई माथी भिरमा देखाउँदै भन्नुभयो: “छोरो सुपादेउरालीमा मान्छे टाँसिएको भन्ने त्यहिँ हो, पहिले एउटा लाहुरेले मन्दिरमा भाक्कल गरेर लाहुर गएको त्यसपछि उताबाट फर्कँदा भने मन्दिरभन्दा माथीको बाटो भागेर फर्कन खोजेकोले देउराली भगवतीले यहाँ टाँस्नुभएको भन्ने पौराणिक कथन छ।” उक्त भिर कटेर केही अगाडी जाँदै थियौँ अचानक छेउबाटै एउटा आवाज आयो:बहिनी तिम्रो झोला माथिबाट खस्यो हेर त।
त्यो आवाज मेरो छेउमै परेको दाइको थियो। उहाँले ठिक छ बस म राखिदिउँला भन्दै, झोला उठाएर माथी राखिदिनु भयो। मैले एउटा मुस्कान दिँदै टाउको हल्लाएँ। सोध्नुभयो: तिमी पहिलो पटक बुटवल जाँदै छौ? ‘हजुर’ भन्दै उत्तर फर्काएँ। अनी सोध्नुभयो: एस.एल.सी. दिएर आएकि हौ? फेरि पनि मेरो उत्तर ‘हजुर’ थियो। फेरि प्रश्न गर्नुभो: कति प्रतिशत ल्यायौ? ८८.१२% प्रतिशत। ओहो, तिमी अहिलेको जिल्ला प्रथम आएकी सुस्मिता खनाल हौ? ‘हजुर’।
ल बधाई छ बहिनी, मैले धन्यवाद दाइ भनेँ। त्यसपछि हाम्रो केही कुरा भएन। त्यसपछिको केही समय म निद्रामा रहिछु, एक्कासि झसङ्ग भएँ उही नोकिया को C1 सेटले भन्यो ‘ तिर्खा लाग्यो पानी खाएँ..’ दिदिको फोन रहेछ। कहाँ आयौ नानू? खै कुन ठाउँ पो हो भन्दै थिएँ , छेउको दाइले भन्नुभयो अमराई बाट तल लागियो। मैले अमराई आएँ दिदी भनेँ। मलाई रामापुर बाट अघि लाएपछी फोन गर है। हुन्छ दिदी भन्दै फोन राखेँ। ‘अब के पढ्ने योजना बनाएकी छौ?’ भन्दै छेउको दाइले सोध्नुभयो। खै के हुन्छ दाई, प्रवेश परिक्षामा नाम निस्किन्छ निस्किदैन भन्दै जवाफ फर्काएँ।
उहाँले भन्नुभयो: “बुटवलको लागी: एभरेस् क्याम्पस नै सबैभन्दा राम्रो छ, गत बर्ष तिन वटा सेक्सन त विशिस्ट श्रेणीको मात्रै लिएको थियो। उत्कृष्ट विद्यार्थीहरु प्राय त्यहिँ पड्छन तर मासिक शुल्क भने अलि महंगो छ अरुको तुलनामा।” उहाँको त्यो कुरा सुनेपछि मैले भनेँ: यदि एभरेस्ट क्याम्पसले, कमजोर विद्यार्थी लिएर धेरैलाई तगडा बनाएको हुन्थ्यो भने म उच्च सम्मान ब्यक्त गर्थें। आफैले जिल्ला प्रथम भएका र विशिस्ट श्रेणीमा उत्तीर्ण विद्यार्थी लिएर त क्याम्पसको मिहिनेत कहाँ देखिन्छ र?
मेरो कुरा सकिदा उहाँले भन्नुभयो: तिमी यत्तिकै जिल्ला प्रथम भएकी थिइनौ। मैले मात्रै मुस्कान फर्काएँ। अनी मनले सोंचेँ: ‘मेरो पनि महंगा कलेजमा पढ्ने मन नभएको कहाँ हो र, ठूलो कुरा घरको आर्थिक स्थिती रहेछ।’
फेरिपनी यस्तै केही अध्यनको बारेमा उहाँले मलाई प्रश्नहरु सोध्दै जानुभयो, मैले आफुले सक्ने उत्तर निश्चित मात्रामा दिँदै गएँ। कुरै कुरामा हाम्रो यात्रा छोटो जस्तो लाग्यो- म त्यतिबेला अर्घाखाँची र कपिलवस्तुको सिमाना क्षेत्र पथ्रकोटको ओरालो बाटोमा थिएँ। आफ्नो जन्मस्थल ढिकुरा हुँदै म मातृभुमी अर्घाखाँचीबाट टाढिदै थिएँ। फेरि पनि मन भावुक भैरहेको थियो। बिस्तारै सिमाना गेट कटेर अगाडी लागेँ र सुरु भयो तराईको समथर भुभाग साथमा गर्मी। झ्याल खुल्ला राखेर बाहिर हेरेर बसेँ। उक्त दाइले भन्नुभयो; ‘पहिलो पटक भएर अलि नरमाइलो मानेकी छेउ होला, बिस्तारै बानी बस्छ घरबाट बाहिर रहने। के गर्नु, जिल्ला अलि विकसित भएको हुन्थ्यो भने जन्मथलो छाडेर बाहिर आउनु पर्दैनथ्यो’।
उहाँको यो कुराले मेरो मनलाई केही शान्त गरायो। त्यसपछि फेरि हामीमा केही कुराकानी भएन। तराइको गर्मी झ्यालबाट आएको फुरफुर हावा, म फेरिपनी निद्राको काखमा पुगिछु। कतैबाट बुबाले ‘सुस्मिता’ भनेजस्तो आवाज सुनेँ, खुसी हुँदै हजुर भन्दै उठेँ तर त्यो खुसी के टिक्थ्यो। छेउको दाईले हामी रामापुर बाट अगाडि बुद्वनगर आइपुग्यौँ भन्नुभयो। हतारिदै फोन निकालेर दिदिलाई फोन गरेर भनेँ। दिदिले भन्नुभो: ‘बसपार्क बाहिर झर्ने हो भन्नू, म पुस्पलाल पार्क नीर बस्छु।’ हुन्छ दिदी भन्दै फोन राखेँ। छेउको दाइलाई धन्यवाद दिंदै कुरा थपेँ; मलाई पुस्पलाल पार्क भन्ने ठाउँ आएपछि भन्नुहोस है, हस भन्नुभयो। बिस्तारै ढवाहा, नयाँगाउँ, बेलवास हुँदै म बुटवलको नजिक आएकी थिएँ।
त्यो दाईले ठाउँको नाम भनिदिदै जानू भएको थियो। तिनाउ पुल हुँदै नेपालगन्ज रोड गएर बस रोकियो। गाडिको सहचालकले: ‘पुरानो बसपार्क झर्ने आउनुहोस् त भन्दै थिए।’ दिदिलाई फोन गरेँ, म यहिँ पुस्पलाल पार्क छु आउ भन्नुभयो। झार्नुपर्ने मान्छे र सामान हरु झारी गाडी अगाडी बढ्यो। छेउको दाईले भन्नुभयो: ‘यहिँ अगाडी हो तिम्रो झर्ने ठाउँ, म पनी त्यहीँ झर्ने हो संघै झर है त’। मैले हुन्छ भन्दा भन्दै गाडी रोकियो, सहचालक को त्यही भनाइ: ‘हस्पिटल लाइन, बसपार्क बाहिर झर्ने आउनुहोस है।’
त्यो दाइले आउ भन्दै झर्नुभयो। म यता उता हेर्दै झरेँ। बसको ढोकाबाट तल पुग्नासाथ दिदिलाई देखेर हाँस्दै सामान लिएर त्यतातिर गएँ। त्यो दाईपनी मतर्फ आउनुभयो, मलाई अलि अफ्ठ्यारो लागीरहेको थियो तर उहाँले त मलाई नभएर दिदिलाई हेर्दै आउनुभयो।
अरे, अनिता तिमी यहाँ? दिदिलाई उहाँको प्रश्न थियो। बहिनी आएकी थिइन लिन आएको, तिमी पनि अर्घाखाँची गएका थियौ? उक्त दाईले भन्नुभयो: तिम्रो बहिनी भन्ने थाहै भएन, हामी संगै सिटमा थियौँ। हलका कुरा गरेर त्यो दाइ जानुभयो। प्रकाशले र मैले बहुमुखीमा संगै पढ्छौँ भन्नुभो दिदिले। मैले त गाडिमा नाम सम्म सोधेकी थिइन, उहाँको नाम प्रकाश रहेछ। दिदी जोगीकुटी(योगीकुटी) बस्नुहुँदो रहेछ, हामी गाडी लाग्ने ठाउँ तर्फ जाँदै थियौँ, मलाई भने त्यो बाटो काट्न डर लागीरहेको थियो। दिदिले हात छोपेर बाटो काट्न सिकाउनु भयो। ‘जोगीकुटी, शंकरनगर, ड्राइभरटोल, मणिग्राम’ भन्दै एक गाडिका सहचालक चिच्याइरहेका थिए। हामी त्यही गाडीमा बस्यौँ, पहाडको चिसो भुभागबाट गएकोले होला मलाई निकै गर्मी लागीरहेको थियो। दिदिले भन्नुभयो: ‘यो त आज बिहान पानी आएकोले धेरै शित्तल महसुस भएको छ।
पहिलो गर्मी तिमिलाई अलि गार्हो नै हुन्छ।’ दिदिले मलाई ठाउँहरु चिनाउँदै जानुभयो। बसपार्क, मिलनचोक हुँदै गाडी केहिबेर राजमार्ग चौराहमा रोकियो। किन रोकेको दिदि? ‘पछाडीको माइक्रो आउनेबेला सम्म रोकिन्छ, ताकी मानिसहरुलाई सहज होस भनेर’ भन्नुभो। केहिबेरमै गाडी हिँड्यो, कालीकानगर हुँदै गाडी जोगीकुटी चोकमा गएर रोकियो। हामी माइक्रोबाट झर्यौँ, दिदिले भन्नुभयो: यहाँबाट थोरै भित्र छ, करिब ५ मिनेट भित्र। अलिकती भित्र हिँडेपछी बाटो दुईटा ठाउँमा बाँडिएको थियो। हामी संगै झोला भएकोले दिदिले भन्नुभयो: ‘नानी यहिँ बस है, म पारीको पसलबाट तरकारी किनेर ल्याउँछु’।
हुन्छ दिदी भन्दै म झोला छोपेर रोकिएकी थिएँ। उभिइरहेको बेला फोनमा घण्टी बज्यो ‘तिर्खा लाग्यो पानी खाएँ…’ आमाको फोन रहेछ, हजुर आमा भन्दै फोन उठाएँ, दिदि कहाँ पुगिस? भन्दै बहिनिले सोध्दै थिइ। एक्कासि मेरो आँखा आफ्नै अगाडी दुर्त गतीमा आएको छोटा हात्ती गाडीमा गयो, हेर्दा हेर्दै ऐया आमा… भन्दै म जोरसंग अगाडी भएको बिजुली पोलमा ठक्कर खान पुगेँ र बाटोमा ढलेँ। बहिनी… भन्दै दिदी चिच्याउँदै आउनुभयो।…… ….. ……।
Discussion about this post