बिष्णु पाण्डेय
काठमाडौं असार २३
नेपालमा कोरोना भाईरसको तेस्रो लहर आउन सक्ने चेतावनि सरकारले दिईसकेको छ । डेल्टा भेरीयन्टको नयाँ म्युटेसन पनि नेपालमा फेला परीसकेको छ । सरकारले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा असार १५ गतेबाट खुकुलो गरेसँगै बजारमा चहलपहल बढेको छ ।
पछिल्लो साता कोरोना भाईरसको संक्रमण दर भने बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ५ प्रतिशत भन्दा कम संक्रमण दर भए मात्र कोरोना संक्रमण नियन्त्रणमा छ भन्ने बुझिन्छ । वर्तमान अवस्थामा नेपालको संक्रमण दर २० प्रतिशत भन्दा माथि नै छ ।
जनस्वास्थ्यविद्हरुले पनि नेपालमा यहि अवस्था रहिरहे चाडै नै तेस्रो लहर आउन सक्ने बताईरहेका छन् ।
अस्ट्रेलियामा पनि डेल्टा भेरीयन्टको नयाँ संक्रमण दर तिव्र रुपमा फैलिएपछि लकडाउनको घोषणा गरीएको छ । यस्तै रुस ,बङ्गलादेश , थाईल्यान्ड, ईन्डोनेसिया र ईजरायलमा पनि नयाँ म्युटेसनले आक्रामक रुप लिईरहेको छ ।
सरकारले पनि तेस्रो लहर आउन सक्ने भन्दै तयारी गरीरहेको जनाएको छ । तर तेस्रो लहरले बालबालिकालाई नै असर गर्छ भन्ने कुनै तथ्यांक नभएका कारण सबै उमेर समुहलाई नै जोखिम हुने ठानेर सरकारले तयारी बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले बताउनुभएको छ । “पहिलो लहरमा धेरै वृद्धवृद्धाहरु बढी प्रभावित भएको देखियो भने दोस्रो लहरमा धेरै ४० वर्षभन्दा माथि उमेर समुहलाई असर गर्यो यसकारण तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्छन् कि भन्ने मात्र हो तर सबै उमेर समुहलाई मध्येनजर गरेर सरकारले तयारी गरीरहेको छ ” उहाँले भन्नुभयो ।
सम्भावित तेस्रो लहरको तयारीका लागि सरकारले निजी क्षेत्रसँग समन्पय गरेर अगाडि बढीरहेको उहाँले जानकारी दिनुभएको छ । अहिले आफुहरुले अस्पतालमा शैया,भेन्टिलेटर, आईसियूहरु थप्दै गएको र अस्पतालका स्वास्थ्यकर्मिहरुलाई पनि तयार रहनको लागि आग्रह गरीरहेको उहाँको भनाई छ ।
देशका सात वटै प्रदेशमा हजार ÷हजार जना व्यक्ति राख्न मिल्ने होल्डिङ सेन्टर बनाउने ,,कन्ट्राक ट्रेसिङ् गर्ने , सबै जिल्लाबाट स्याम्पल कलेक्सन गर्ने ,अस्पतालको क्षमता वृद्धि गर्ने ,पालिका पालिकामा जनस्वास्थ्यको जनशक्ति थप्ने काम भैरहेको समेत उहाँको भनाई छ ।
रोग नियन्त्रण र निगरानी बढाउन टोलटोलमा सहजीकरण समिति बनाउने , स्वास्थ्यका पूर्वाधारहरु बढाउने बिषयमा पनि विशेष ध्यान दिएर काम भैरहेको डा. पौडेलको भनाई छ ।
डा. पौडेलका अनुसार अहिले नेपालमा भेटीएको डेल्टा प्लस भरीयन्ट कत्तिको संक्रामक छ र यसको संक्रमण कति फैलिसकेको छ भन्ने सन्दर्भमा पनि सरकारले स्याम्पल लिने काम गरीरहेको उहाँले बताउनुभएको छ ।
Discussion about this post