तोलाकान्त बगाले
वालिङ
भदौ -७
ब्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. २ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एकसय घरधुरीमा एक घर–एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो ।
वालिङ नगरपालिकाको रु. ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट रु. ९ लाख ५० हजार गरी कूल रु. ४० लाखको लागतमा तीनवर्षमा खानेपानी योजना सम्पन्न भएको वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो ।
“ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निक्कै समस्या थियो” वडा अध्यक्ष लम्सालले भन्नुभयो, “वडामा हामीहरु निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्यौ र अहिले प्रत्येक घर–घरमा धारा जडान गरी २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौं ।”
झल्र्याङ्दी मुलबाट करीब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारी गैहमा ७० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी त्यहीँमार्फत घर–घरमा पानी वितरण गरिएको वडा अध्यक्ष लम्सालले बताउनुभयो ।
स–साना मुलबाट टुक्राटुक्री पाईपहरु जोडेर केही घरले पानी खाने गरेपनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता रहेको राक्से, सिमलचौपारी, फुटेढुंगा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बोधराज रेग्मीले बताउनुभयो ।
“योजना सम्पन्न हुनुपूर्व यस ठाउँमा खानेपानीको निक्कै समस्या थियो, स्रोतहरु कम थिए” समितिका अध्यक्ष रेग्मीले भन्नुभयो, “ठूलो मुलबाट ठूलो मात्रामा पानी ल्याएपछि अहिले खानेपानीका लागि दैनिक खर्चनुपर्ने समयको वचत हुनुकासाथै पहराभित्रबाट आएको पानी शुद्ध र प्रर्याप्त भएको छ ।”
स्थानीयले प्रतिघर रु. पाँच हजारका दरले रकम संकलन गरी मुल रहेको १२ आना जग्गा खरिद गरेका छन् ।
खानेपानी वितरण तथा मर्मतका लागि प्रति घरपरिवार मासिकरुपमाप रु. ६० संकलन गरिएको छ । जसले खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक र मर्मत सम्भारकालागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताउनुभयो ।
Discussion about this post