कोदोबाट उत्पादन हुने मदिरालाइ गण्डकी विश्वविद्यालयले ब्रान्डिङ गर्ने

25
SHARES
211
VIEWS

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो ।

पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ सहित पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए । ब्राण्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने गरेको छ ।

विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको रजिष्ट्रार तिमिल्सिनाले बताए । गण्डकी प्रदेशमा कोदोको खेती र उत्पादन बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हँदै आएको छ ।

यस्तै, विश्वविद्यालयले सुन्तलामा कीरा लाग्ने विषयको समेत अध्ययन सुरु गरेको छ । विगत केही वर्षदेखि सुन्तलामा कीरा लाग्दा पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको भन्दै यसको अध्ययन थालिएको उनले जानकारी दिए ।

मङ्गलबार विश्वविद्यालयले पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तर्क्रिया कार्यक्रम गरी गण्डकी प्रदेश सरकारको पहिलो विश्वविद्यालयवाट सञ्चालित शैक्षिक कार्यक्रम, आगामी रणनीति र यस विश्वविद्यालय सञ्चालनका उद्देश्यका बारेमा छलफल गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्षजनशक्ति उत्पादन गर्नकालागि विश्वविद्यालय रचनात्मक सोचका साथ अघि बढेको बताए ।

अबको युगमा आवश्यक पर्ने व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय लागिपरेको छ । शिक्षाको गहिरो अध्ययनबिना जुनसुकै क्षेत्र पनि अपूरो हुने भएकाले यो विश्वविद्यालय सूचना प्रविधि, खेलकूद, चिकित्साविज्ञानलगायत कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रका पढाइ सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिको कक्षा सञ्चालन गरिने भएको छ भने त्यसैगरी खेलकूद विभागको पढाइसमेत सञ्चालन गरिने उनले बताए ।

हरेक नागरिकलाई सर्वसुलभ रुपमा शिक्षाको पहुँच पुर्याउने उद्देश्यले प्रदेश सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुलपति गुरुङले जानकारी दिए। गण्डकी विश्व विद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले विश्वविद्यालयका कार्यक्रमकाबारेमा जानकारी दिएका थिए ।

विश्वविद्यालय सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतलाई स्थापित गर्दै कृषि, पत्रकारिता, उद्यमशीलतालाई समेत अघि बढाइने बताइएको छ । विश्वविद्यलयका प्रोफेसर सरोज गिरीले ‘स्नातक तहमा सूचना प्रविधि’ र मधुसुदन सुवेदीले ‘खेलकुद व्यवस्थापन’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार