पर्बतको सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) सञ्चालनमा ल्याइएको छ । कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोँचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार उद्घाटन गरेका छन् ।
कुस्मास्थित हार्नेस जिपलाइन प्रालीले टिकटक पारखीका लागि लक्ष गरेर मुलुकमै पहिलो पटक यस्तो पुल निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ ।
तल हेर्दा डर लाग्नाका साथै आनन्द पनि लिन सक्नेगरी पुल बनाइएको हो । एकैपटकमा १ सय जनाले स्काइब्रिजको वारपार गर्नसक्ने उनको भनाइ छ । पुल ३५ फिट लामो र ११ फिट चौडा छ ।
‘हामीले नेपालका लागि पहिलो सिसाको पुल बनाएका हौं’, उनले भने, ‘अहिले युवाको आकर्षण टिकटकमा भएका कारण यसले टिकटक बनाउन युवायुवतीलाई आकर्षण गर्ने विश्वास लिएका छौं ।’ स्काइब्रिजमा पसेर नाच्न र गाउँन पनि सकिने छ ।
अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविश्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको निर्देशक बस्नेतले बताए । स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ ।
हार्नेस प्रालीले कुस्मा बजारमा पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको उनको भनाइ छ । कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको हाे ।
अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जीपलाइनमा आउने इच्छा गर्दै समय बुक गराउनेक्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताए ।
Discussion about this post