पाल्पा, वैशाख २
नेपालमा राजनीतिक परिवर्तन धेरै भएको र अब जनताको जीवनस्तर परिवर्तन हुने गरि विकासको आवश्यकता रहेको अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका संयोजक सन्दीप रानाले बताउनु भएको छ । उहाँले परिवर्तनका नाममा धेरै आन्दोलनभन्दा पनि विकासको आन्दोलन सुरु हुनुपर्ने बताउनुभएको हो ।
नयाँ वर्षको अवसरमा लोक सुशेली युवा क्लब, रम्भा १, च्याङलिङले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा बोल्दै रानाले परिवर्तनकारी शक्तिहरुलाई जनताले पहिचान गर्नुपर्ने उपयुक्त समय आएकोे बताउनु भएको हो ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका रानाले देश विकासका नाम धेरै क्रान्तिहरु भएको भन्दै आगामी दिनहरुलाई सुखद बनाउन क्रान्तिको भन्दा व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो । उहाँले युवा शक्तिहरुलाई समयानुकुल परिवर्तनको बाटोमा अगाडी बढाउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले लोक सुशेली युवा क्लव सामाजिक संस्कृति जगेर्नामा लागि परेको बताउँदै नयाँ वर्षले जनताको मुहारमा हाँसो र खुसी साट्न सकोस् भन्ने शुभकामना व्यक्त गनुभयो ।
नेपाली कांग्रेस रम्भा गाउँपालिका अध्यक्ष ऋषिराम अर्यालले लोक सुसेली युवा क्लबका गतिविधिहरुलाई कोरोनाले प्रभाव पारेको बताउँदै नयाँ जोश र जाँगर सहित आएको नयाँ वर्ष २०७९ मा सामाजिक विकृति चिर्न युवाहरु लागिपर्नुपर्ने बताउनुभयो ।
क्लबले १६ औं वार्षिकोत्सवको अवसरमा पारेर आयोजना गरेको साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरिगित प्रतिष्ठानका सचिव पुष्कल शर्मा, गायिका सुशीला गौतम तथा स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
Discussion about this post