गत बुधबार दिउँसो माइतीबाट फर्किएकी अमृता त्यही राती ९ बजे विष सेवन गरेर छटपटाइरहेको अवस्थामा फेला परिन्। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगियो। तर उनको मृत्यु भैसकेको थियो।
अमृताले विष सेवन गर्नुअघि आफ्ना दाजुसँग सहयोग मागेकी छिन्। उनले दाजुलाई ‘म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ। प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ। दाइ मलाई यहाँबाट निकालिहाल्नु। हेल्प गर्नु म निस्कन्छु।’
यसअघि अमृताले आफ्ना माइती पक्षसँग कति पटक गुहार मागिन् होला। वर्षौंदेखि मानसिक र शारीरिक हिंसा सहँदै आएकी छोरीले आफूले सहेको पीडा भन्दै गर्दा बाबु आमाले ‘तिम्रो लागि माइतीको ढोका खुल्ला छ।
त्यो अन्याय सहन त्यहाँ नजाउ’ भन्न सकेको भए उनको अकाल मृत्यु टर्ने सम्भावना थियो। तर विवाहित छोरीले माइती र घरको इज्जतका लागि आफ्नो ज्यान फाल्नु पर्ने प्रवृत्तिलाई निरन्तरता दिन अमृता बाध्य बनेकी छन्।
अमृताको मृत्युपछि उनको आत्महत्या नभएर हत्या भएको भन्दै माइती पक्षले उजुरी गरेको छ। अमृताले विष सेवन गरेको उनको घरमा दिनहुँजसो नारा भैरहेका छन्। तिलोत्तमा अशान्त बनेको छ। तर माइतीको आक्रोश, आफन्तको नारा–जुलुस र प्रहरीको अनुसन्धानले २९ वर्षको अल्पायुमा मृत्यु वरण गरेकी अमृताको जीवन पुनः फर्किएर आउँदैन्।
१२ पढ्दा पढ्दै प्रेम विवाह गरेकी अमृताले भारतमा गएर ब्युटीपार्लर सिकेकी थिइन्। नेपाल आएर सोही व्यवसाय गर्न खोज्दा सासुले नदिएपछि उनले फर्निचर उद्योगमा काम गर्न थालिन्।
उनको काम परिवारलाई मन परेको थिएन। एक छोराकी आमा अमृतालाई उनीहरुले खर्च समेत दिने गरेका थिएनन्। छोराको पढाइमा पनि आफैँले खर्च गर्नुपर्ने भएपछि उनले परिवारले मन नपराए पनि कामलाई निरन्तरता दिँदै आएकी थिइन्।
परिवारमा कयौँ पटक झगडा भएको, माइती र घरका मानिस बसेर मिलापत्र गराएका ‘केस’हरु पनि सार्वजनिक भैरहेका छन्। मृत्युपछि उनले भोगेका यातनाको लामो फेहरिस्त निकाल्ने समाज र परिवारले अमृताले ज्यूँदै हुँदा बाँच्नका लागि गरेको याचना किन सुन्न सकेन? अमृताको न्यायको माग गर्दै जम्मा भएको भीडमा प्रश्न चिच्याइरहेको भान हुन्छ।
Discussion about this post