राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाएका छन् ।
दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताएका छन् । उनले दल दर्तापछि मात्रै अन्य सदस्यहरुको नाम खुलासा गर्ने बताएका छन् ।
यसैबीच राष्ट्रियसभा गृहमा पार्टीको नाम घोषणा गरेर निर्वाचन आयोग पुगेका लामिछानेले दल दर्ताका लागि निवेदन दर्ता गराएका छन् ।
आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो दलको सिद्धान्त संवैधानिक समाजवाद रहेको बताए । उनले अन्य दलभन्दा आफ्नो दललाई पृथक बनाउने र सिद्धान्तबारेमा थप छलफल हुन बाँकी रहेको बताए ।
चुनाव चिन्ह घण्टीको बारेमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा यसको सिम्बोल आध्यात्मिक मात्र नभई सचेतनाको प्रतीक रहेको बताए । बेथिति बिरुद्धको जनाउ घण्टी रहेको उनको भनाई छ ।
Discussion about this post