किशोर -किशोरीमा किन बिग्रदै छ मनोदसा

22
SHARES
108
VIEWS

किन बिग्रदैछ किशोरपुस्ताको मनोदसा केही समयअघि गरिएको अध्ययन अनुसार अहिले किशोर–किशोरीहरु मनोविद् कहाँ धाउन थालेका छन् । यसले अहिलेका किशोरपुस्ताको मनोदसा ठीक छैन भन्ने संकेत गर्छ ।

अहिलेका किशोरपुस्ताले तुलनात्मक रुपमा धेरै सुविधा उपभोग गर्न पाएका छन् । उनीहरुले पढ्नलेख्न मात्र होइन, लगाउन, खान, घुमफिर, मनोरञ्जन गर्न पनि पर्याप्त मौका पाएका छन् । आफ्ना छोराछोरीका खातिर आमाबुवाले मनग्यै पैसा समेत खर्च गरिरहेका छन् । सिनेमा हलमा गएर छानीछानी सिनेमा हेर्न पाएका छन्, फुर्सदको क्षणमा घुमफिर गर्न पाएका छन्, बेलामौकामा किनमेल गर्न पाएका छन्, छाकैपिछे मीठोमसिनो खान पाएका छन्, सुकिलोमुकिलो लुगाफाटो लगाउन पाएका छन् । मोवाइल, ल्यापटप, कम्प्युटर जस्ता उपकरणमा रमाउन पाएका छन् । यद्यपि उनीहरु अपेक्षाकृत खुसी छैनन् । किन ?

अहिलेका बालबच्चाले भौतिक सुख–सुविधा मनग्ये पाएका छन् र त्यसकै गोलचक्करमा बन्दी भएका छन् । उनीहरुले जीवन, परिवार र समाजको मूल्यबोध गर्न पाइरहेका छैनन् । पारिवारिक संस्कार, सामाजिक व्यवहारबाट विमुख हुँदैछन् । यही कारण उनीहरुमा सबैथोक पाएर पनि केही अपुग जस्तो अनुभव भइरहेको छ । जुन कुराले जीवनमा दीगो खुसी, उमंग, उत्साह एवं उर्जा दिलाउँछ, त्यही कुरा आज उनीहरुसँग छैन ।

उनीहरु परिवार, आफन्त, साथीभाई वा समाजसँग घुलमिल भएर अन्र्तक्रियात्मक जीवन बाँचिरहेका छैनन् । बरु, भर्चुअल संसारमा हराएर काल्पनिक जीवनमा उडिरहेका छन् । उनीहरुलाई आफ्नो जीवन, परिवेश, घर–परिवार र समाज समेत बिरानो लाग्दैछ ।

विगतमा जब संयुक्त परिवारहरु थिए, त्यो समयमा परिवारका सदस्यहरुले साथसाथै समय बिताउन, आफूलाई थाहा भएका नयाँ कुराहरुको जानकारी आदान–प्रदान गर्न, माया–प्रेम दर्शाउनका लागि कुनै पनि ग्याजेटमा निर्भर हुनु पर्दैन थियो । परिवारका सबै सदस्यहरुको आमने–सामने कुराकानी हुने गथ्र्यो । तर आज उनीहरु एक्लै कोठामा मोबाइल र ल्यापटपमा हराई रहन्छन् । कति जनाले आफ्नो तस्विर÷पोस्टमा लाईक गरे ? के कमेन्ट गरे ? जस्ता कुराहरु उनीहरुको चासोको बिषय बनेको छ ।

अहिलेका किशोर किशोरीलाई भिन्दै कोठामा बस्न सिकाइन्छ, जहाँ उनीहरु कसैको रोकटोक बिना आफुलाई मन परेका कुराहरु गर्छन् । आफ्नो मनमा उठेका भावनाहरुको बारेमा आफ्ना आमा–बुबासँग होइन, सामाजिक संजालमा साझेदार गर्छन् ।

गुमाएको धैर्यता

इन्टरनेटको उपलब्धताले गर्दा मान्छेमा हरेक कुराको नतिजा यथासिघ्र प्राप्त गर्ने बानीको विकास भयो । आफुलाई मनमा लागेको कुरा थाहा पाउन गुगल सर्च गरे भयो, जसले त्यससँग सम्बन्धित लाखौं नतिजा निमेषभरमै दिलाउँछ । मुड अनुसार उनीहरु जब कुनै गीत सुन्न चाहन्छन् वा सिनेमा हेर्न चाहन्छन्, युट्युबले उनीहरुको इच्छा चुट्कीको भरमा पुरा गरिदिन्छ । मनमा उठेका भावना जब उनीहरु सामाजिक संजालमा साझेदार गर्छन्, तुरुन्तै प्रतिक्रियाहरु मिल्न थाल्छ । यसले के भएको छ भने कुनैपनि कुरालाई पर्खने वा धैर्यता गर्ने शक्ति हराउँदै गएको छ ।

ठीक यसैगरी उनीहरु आफ्नो रुची वा इच्छा अनुसारको कुराहरु यथासिघ्र पुरा होस् भन्ने अपेक्षा गर्छन् । आफुले चाहेको कुरा आमाबुवाले तुरुन्तै पुरा गरिदिनुपर्छ, आफुले गरेको कामबाट तुरुन्तै प्रतिफल मिल्नुपर्छ, आफुले सोचेको काम तुरुन्तै गर्न पाउनुपर्छ, आफुले चाहेको चिज तुरुन्तै प्राप्त गर्नुपर्छ भन्ने मनोवृत्ति विकास भएको छ । तर, व्यवहारिक जीवनमा यस्तो संभव छैन । व्यवहारिक जीवनलाई आत्मसात गर्न नसक्दा पनि उनीहरु दुःखी हुँदै गएका छन् ।

फेसन, जीवन शैली, करियर, शिक्षा जस्ता हरेक क्षेत्रहरुमा अहिले किशोरपुस्ताको तिब्रता बढ्दै गएको छ । उनीहरुलाई यो तिव्र रफ्तारमा नियंन्त्रण गर्न आउँदैन । उनीहरुले सडकमा गुडाएका तिव्र गतिका मोटर साइकल र घटनाको भयावह तस्विरहरुले यीनै कुराहरुलाई प्रस्ट पार्छन् ।

उनीहरु जे सोच्छन्, त्यो गर्नै पर्छ भन्ने भावना विकास भएको छ । उनीहरु कुनै एउटा कुरामा केन्द्रित हुनै सक्दैनन् ।

अपेक्षाको बोझ

एकातिर उनीहरु काल्पनिक संसारमा डुबुल्की मारिरहेका छन् भने अर्कोतर्फ उनीहरुमाथि आमाबुवाको अपेक्षा बढ्दो छ । स्वभाविक रुपमा आमाबुवाले छोराछोरीबाट केही न केही आशा वा अपेक्षा राखेका हुन्छन् । छोराछोरीले भविष्यमा दुःख, अभाव, कष्ट झेल्न नपरोस् भन्ने चाहन्छन् । त्यही अनुरुप छोराछोरीले कुनै पेशा, उद्यम आदि गरेर आफ्नो भविष्य सुरक्षित गरोस् भन्ने इच्छा राख्छन् । आमाबुवाको यस्तै अपेक्षा किशोरकिशोरीका लागि भने बोझिलो बन्ने गर्छ ।

कतिपय आमाबुवा यस्ता हुन्छन्, जो आफुले पुरा गर्न नपाएको रुची एवं सौख छोराछोरीबाट पुरा गराउन खोज्छन् । आफ्नो अधुरा इच्छाहरु छोराछोरीमाथि लाद्न खोज्छन् । यसरी आफ्नो क्षमता र रुची भन्दा पनि आमाबुवाको सपना पुरा गर्नका खातिर दौडनुपर्ने अवस्थाले धेरै किशोर किशोरीमा छटपटी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार