कार्तिक -१० ,यो वर्षको नेपालीहरुको महान् चाड बडा दशैमा चहलपहल शहरमा मात्र नभई गाउँ घरमा पनि न्यून देखियो । कोरोना महामारीको जोखिम उच्च रहेकोले आफ्नो जन्म घर फर्कनेहरुको सङ्ख्यामा पनि उल्लेख मात्रामा कमी आएको देखियो। कालीगण्डकी गाउँपालिकाले पनि गाउँ प्रबेश गर्न भारत , तेस्रो मुलुक र संक्रमण जोखिम रहेका स्थानबाट गाउँपालिका प्रवेश गर्ने महानुभावहरुलाइ ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ सहित प्रबेश गर्न अनुरोध गरेको थियो। पिसिआर नेगेटिभ रिपोर्ट नभएकाहरुले गाउँपालिकाले तोकिएको क्वारेन्टिनमा बस्न पर्ने नियम लगाइएको थियो। जसबाट पनि कालीगण्डकी गाउँपालिका प्रवेश गर्नेहरुको सङ्ख्यामा उल्लेख मात्रामा कमि आएको हो भन्न सकिन्छ । आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न जो जाहा छ त्यही दशै मनाउन सरकारको आग्रह पनि थियो।
दशैमा घर फर्कनेहरुको भिडभाड हुने अनुमान गरिएको थियो। हाल मिर्मीमा अवस्थित सामुदायिक क्वारेन्टिनमा ४०/४५ जना क्षमताको क्वारेटिन स्थल भरिभराउ हुने अपेक्षा गरिएको थियो। तर गाउँपालिकाको घोषणा पश्चात् क्वारेन्टिनमा जम्मा २० जना मात्र आइपुगेका थिए। उनिहरुलाइ पनि दशै पर्व मनाउनका लागि ७ गते होम क्वारेन्टिन्मा रहने गरि घर पठाइएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका जन-स्वास्थ्य निरिक्षक खडक बहादुर थापाले जानकारी दिनुभयो। उनीहरु सवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको समेत जन स्वास्थ्य निरीक्षक थापाले बताउनु भयो। कालीगण्डकी गाउँपालिकाले गरेको अनुरोध र आह्वानलाई नागरिक समुदायबाट पनि समर्थन मिलेको देखिएको छ।
कालीगण्डकी गाउँपालिकाको मुख्य व्यापारिक स्थल मिर्मीबजारमा पनि दशैको चहलपहल गएको वर्षमा भन्दा आज न्यून देखियो। हाम्रो अनुगमनको क्रममा मिर्मी बजारमा पनि चहलपहल न्यून देखिएको थियो। टीका थाप्न केही व्यक्तिहरु सडकमा देखिए पनि गत वर्षको तुलनामा टीका थाप्न जानेहरूको ओहोरदोहोर निकै कम देखिएको थियो। बिर्घा, वैघा , देउराली , मसार , छापाडाँडा , ठाटी भञ्ज्याङ्, चण्डि , हटिया लगायतका स्थानहरुमा गएको वर्षको तुलनामा चहलपहल न्यून देखिएको थियो। बिर्घाबाट सहकर्मी जिके पाण्डेका अनुसार गत वर्षको तुलनामा यो वर्ष विर्घामा पनि चहलपहल अत्यन्तै न्यून रहेको जानकारी दिनु भयो। गत वर्ष टीका थाप्न जानेहरूको चहलपहल हुने गरेको भए पनि यो वर्ष कोरोना संक्रमणको जोखिमका कारण चहलपहल न्यून रहेको पाण्डेले बताउनु भयो। कोरोना संक्रमणको जोखिमका कारण पनि यसपालि सवैले आफू रहेको ठाउँमा दशै मनाएका कारणले पनि गाउँघरमा चहलपहल न्यून भएको हो।

Discussion about this post