कार्तिक -२१ कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न सवै नगरपालिका र गाउँपालिकाका बिद्यालयलाई अनुरोध गरेको छ। नेपाल सरकारले भदौ २९ गते जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बिपरित जिल्लाका विभिन्न बिद्यालयहरुले कक्षा संचालन गरेको भन्दै बिहिवार सूचना जारी गर्दै प्रत्यक्ष सिकाइ बिधि अवलम्बन नगर्न स्याङ्जा जिल्ला प्रशासनले आग्रह गरेको छ। जिल्लामा प्रत्यक्ष सिकाइ विधि अर्को सूचना जारी नभए सम्म नगर्न नगराउन जारी सूचनामा उल्लेख गरिएको छ। यता स्याङ्जाका अधिकांश बिद्यालयले भने विद्यार्थी बिद्यालयमै बोलाएर प्रत्यक्ष सिकाइ विधि मार्फत कक्षा संचालन गरिरहेका छन् । प्रत्यक्ष सिकाइ विधि मार्फत कक्षा संचालन गरिएको भन्दै यश अघि पनि कोरोना संक्रमण फैलिए सोही नगरपालिका र गाउँपालिका जिम्मेवार हुने भन्दै स्याङ्जा प्रशासनले सूचना जारी गरेको थियो। दशै पश्चात् स्याङ्जामा दैनिक कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। हाल स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या ५६९ पुगेको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ।
Discussion about this post