एक देखि साढे एक घण्टाको यात्रा गर्न झण्डै तीन घण्टा लाग्यो

16
SHARES
134
VIEWS


✍️ मिन बहादुर थापा मगर

स्याङ्जा – ९ मंसिर २०७७।
केही दिन अगाडी कालीगण्डकी – ४, बिर्घा स्वामिबोटबाट बिरामी लिएर पाल्पाको युनाइटेड मिसन अस्पताल जानुपर्ने भयो ।

करिब दिउँसो ३ बजेतिर बिर्घाबाट स्वामिबोट हुँदै मुड्कीना – कट्टीगाउँ – दब्छे – छाप हुँदै सिदार्थ राजमार्गको यात्रा गर्दै मिसन अस्पताल पाल्पासम्मको एक तर्फी यात्रा पुरा गरियो। यात्रा झण्डै पौने तीन घन्टा लामो भयो ।

यहि संदर्भलाई लिएर एम्बुलेन्स चालक दिपक थापा मगरलाई हामी बिर्घा – वैघा – रानीमहल हुँदै पाल्पा आएको भए कति समय लाग्थ्यो भनी मैले जिज्ञासा राखे वहाँले मेरो उत्तर निकै सटिक र एकै वाक्यमा एक देखि साढे एक घन्टा भन्नुभयो ।

फर्कदाखेरी मैले चालक थापालाई रानीमहल हुँदै फर्किने प्रस्ताव राखे वहाँले अमिलो मन बनाउँदै पाल्पा देखि रानीमहल पाल्पा तर्फ त बाटो राम्रो छ तर रानीमहलको मोटरपुल तरेपछि स्याङ्जा तर्फको मोटरबाटो राम्रो नभएको गुनासो गर्नुभयो ।

तैपनि हामी जोखिम मोलेर भए पनि रानीमहल हुँदै बिर्घा फर्किने निधो गर्यौं । पाल्पा युनाइटेड मिसन अस्पताल परिसरमा खाजा खाएर करिब साँझ ६ : १५ बजे पाल्पा बतासेडाँडा – अवल – हातीढुंगा – रानीमहल हुँदै स्याङ्जाको कालीगण्डकी गाउँपालिका साविक बिर्घाको यात्रा तय गरियो ।

चालक थापाले भन्नुभए जस्तै बतासेडाँडा देखि रानीमहलसम्मको यात्रा हामीले सोंचेभन्दा धेरै सहज भयो कारण अवलसम्म पिच बाटो सम्पन्न र हाल अवल देखि रानीमहलसम्मको सडक चौडा पारिनुको साथमा कालोपत्रका लागि नाली लगायत अन्य काम धमाधम भइरहेको थियोे । चालक थापाले यात्रा विगतमा भन्दा अझ धेरै सहज भएको बताउनुभयो ।

अफसोच पाल्पा छाडेर स्याङ्जा तरेपछि साँच्चिकै यात्रामा केही कठिनाई आयो । साँगुरो मोटरबाटो त्यसमा पनि सडकको लेवल नमिलेको , साँगुरो घुम्टी , ठाउँ ठाउँमा हिलाम्मे सडकको अवस्था यात्रा साँच्चिकै दयनिय बन्दै गयो ।

सटुका आइपुग्ने बेलामा हाम्रो अगाडी एउटा मोटर गाडी बाटोमा फसिरहेको थियोे । बाटोको बाताबरण कालो चुक घोप्ट्याए जस्तै अँध्यारो थियोे । गाडी चालक फसेको गाडी निकाल्न तल्लीन थिए । हामी केहीबेर एम्बुलेन्सभित्रबाट दर्शक बन्यौं । अवस्था सहज थिएन ।

केही बेरमा चालक थापाले हाम्रो गाडीको पछाडीको चक्कामा एउटा ठुलो ढुंगा राख्नुभयो ताकी ओरालोमा एम्बुलेन्स पछाडी नबगोस । त्यसपछि आफू एम्बुलेन्सबाट ओर्लेर अगाडीको गाडी चालकलाई केही कुरा सिकाउन जानुभयो । केही बेरमा गाडी फसेको स्थानबाट अगाडी बढ्यो।

सँगसँगै हामीले पनि यात्रा पुनः शुरु गर्यौं । तर यात्रा सहज थिएन । मैले चालक थापालाई प्रश्न गरे किन यस्तो गाह्रो ? वहाँ हाँसेर जवाफ दिनुहुन्थ्यो हाम्रो भाग्य नै दोषी छ ।

मैले पुनः प्रश्न गरे किन ? वहाँ फेरि मुसुक्क हाँस्नुभयो ।
एम्बुलेन्स अगाडी बढेन बाटोमा केही अवरोध आयो ।
मैले के भयो भनेर सोधे, गाडीको तलको भाग बाटोमा छोइयो। अब फोर ह्वील लगाउनुपर्छ । सँगसँगै फोर ह्वील लगाउन मलाई त्यति जाँगर चल्दैन पनि भन्नुभयो , मैले किन भन्न नभ्याउँदै चालक थापाले यो प्रक्रिया आपतकालीन अवस्थामा अपनाइने र यदि बिग्रेको खण्डमा मेन्टेनेन्स महंगो पर्न जाने बताउनुभयो ।

मैले पुन: चालक थापालाई सोधेँ बाटो यो भन्दा अगाडी पनि यस्तै थियोे कि ? अलि राम्रो भने , वहाँले फेरि सुस्केरा हाल्नुभयो यस्तै थियोे । यो बर्षको अत्याधिक बर्षाका कारण त झन् गत असार देखि भाद्रको अन्त्यसम्म त बाटो पुर्ण रूपमा बन्द थियोे चालक थापाले भने ।

पुलको मुखमा ( स्याङ्जा ) तर्फ ठुलो पहिरो झरेको थियोे । सँगसँगै पुल देखि सटुका – वैघा भन्ज्याङ्गसम्म अन्य स्थानमा पहिरो झरेको थियोे चालक थापाले भने ।

तर हालको बाटोको यो अवस्था गाउँपालिका प्रमुख खिम बहादुर थापा र उप-प्रमुख सावित्रा कोइरालाको सक्रियातामा पालिकाको डोजरले यो बाटो सफा गरेपछि जोखिम मोलेर भएपनि यात्रा गर्न संभव भएको एम्बुलेन्स चालक थापाले बताउनुभयो ।

यसैबिच चालक थापाले बिरामी लगायत अन्य यात्रुलाई पाल्पा र बुटवलसम्मको यात्राका लागि दुरीको हिसाबले यो मोटरबाटो निकै महत्वपुर्ण र छोटो भएपनि सरोकारवाला निकाय र खास गरेर वाड नं – ३, का जनप्रतिनिधि तथा साविक बिर्घाका विशिष्ट व्यक्तित्वहरूले यस बाटोको छिटोछरितो स्तरउन्नतिको लागि खासै चासो नदेखाएको हो की भनेर शंका व्यक्त गर्नुभयो।

बाटोको बारेमा ( स्याङ्जा पट्टीको ) भलाकुसारी गर्दै यात्रा गर्ने क्रममा हामी वैघा भन्ज्याङ्ग निस्कन सफल भयौं । घडीको सुईले रातीको पौने ८ हानेको थियोे । यात्राको समयले साढे एक घण्टाको समय लिएको थियोे अन्तत हामी यात्रा समाप्तीको बिन्दुमा आइपुग्यौं ।

आशा गरौं मिर्मी – बिर्घा – रानीमहल सडक खण्डको पिच तथा स्तर उन्नतिले चाँडोभन्दा चाँडो मुर्तरुप पाउनेछ । सरोकारवाला निकाय र सडकको निर्माणकार्यको जिम्मेवारी लिएको निर्माण कम्पनीले कामलाई तिव्रता दिनेछ ।

साथै कालीगण्डकी गाउँपालिका स्याङ्जाले यस सडक खण्डको निर्माणकार्य र पिचका लागि अग्रगामी पहलकदम लिनेमा हामी आशा व्यक्त गर्दछौं ।

यात्रा समाप्त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार