पुस -२ स्याङ्जामा प्रहरीले दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ। प्रहरीले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ घर भइ हाल कास्की पोखरा महानगरपालिका वडा नम्बर ५ डेरा गरि बस्ने ३३ वर्षकी मन्जु क्षेत्रीलाई उनकै डेराबाट पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा प्रहरीले क्षेत्रीको डेरामा खानतलासी गर्दा मन्जु क्षेत्रीको नाममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारि भएको ४२१०६२-१०-१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६-०२-७५-०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं. र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी फेला परेको थियो। नागरिकता र राहदानी बरामद गरी मन्जु क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। पक्राउ परेकी क्षेत्रीलाई “नागरिकता सम्बन्धी कसुर” मुद्दा दर्ता गरि जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद लिएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।
Discussion about this post