माघ-१५
स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ को चिउरीबोट नजिकै पुरास भन्ने ठाउँबाट सुरु भएको डढेलोले उग्र रुप लिदा स्थानीय समुदायिक रानीबन जलेर नष्ट भएको छ। डढेलोले ठूला रुखहरुलाई क्षति नपुर्याए पनि जङ्गलमा रहेका खर तथा साना बोटबिरुवाहरुलाई जलाएर नष्ट गरेको छ। हिजो बिहान करिब १० बजे तिर डढेलो लाग्न सुरु भएको स्थानीय देवेन्द्र सुवेदीले जानकारी दिनु भयो। वडा नम्बर १ मा रहेको मटियाचौर वस्तीलाई नै जोखिम पार्ने गरि लागेको डढेले कस्ले र कुन नियतले आगो लगाएको हो भन्ने तथ्य नखुलेको वडा सदस्य रामु श्रेष्ठले जानकारी दिनु भयो। आफू रात भरी आगो निभाउन स्थानीय बासिन्दा सहित डढेलो लागेको स्थानमा पुगेको बताउदै श्रेष्ठले स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यलय बिर्घाको समन्वय तथा स्थानीय बासिन्दाको सहभागीतामा आगो नियन्त्रणमा लिन सफल भएको श्रेष्ठले बताउनुभयो । “केहि महिना यता वर्षा नभएको र जङ्गल सुख्खा भएकोले जङ्गलमा डढेलोले उग्र लिएको हो। हामी सवै मिलेर राती करिब २ बजे तिर मात्र आगो नियन्त्रण लिन सफल भयौ। “श्रेष्ठले थप्नु भयो।
जङ्गलमा आगो दन्किरहेको बेला जङ्गलमा रहेका मृगहरु ज्यान जोगाउन वस्ती नजिकै आइपुगेको स्थानीय प्रत्यक्षदर्शी हरुले बताएका छन् । जङ्गलमा आगो लगाउदा खर घाँस राम्रो सित पलाउने भन्दै कतिपय स्थानीयहरुले आगो लगाउने प्रवृत्ति रहेको पाइन्छ। जंगली जनावर हरुको लोप हुनुमा जङ्गलमा लाग्ने डढेलोलाइ पनि मुख्य कारणको रुपमा लिने गरिन्छ।
Discussion about this post