जेठ-३०
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बर्तुङका आगलागी पीडित तुल बहादुर सोमैलाई रु २ लाख १५ हजार ९ सय आर्थिक सहयोग प्राप्त भएको छ। जङ्गलमा लागेको डढेलो एक्कासी बस्तीमा प्रवेश गर्दा गत चैत २८ गते सोमैको घर-गोठ जलेर नष्ट भएको थियो। सोमैको घरमा रहेका अन्नपात , लत्ताकपडा , धन-सम्पत्ति लगायत महत्त्वपूर्ण कागजातहरु जलेर नष्ट भएको थियो।
आगलागी पश्चात घरवारविहीन भएका सोमै दम्पतीलाई कालीगण्डकी गाउँपालिका तथा विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका थिए। यसै क्रममा कालीगण्डकी सेरोफेरो समाज युकेद्वारा अग्नि पीडित सोमैलाई हिजो शनिबार उक्त रकम हस्तान्तरण गरिएको हो। कालीगण्डकी सेरोफेरो समाज युकेका प्रतिनिधि प्रेम सिंह राना ,थमान सिंह राना , तुल्सी राना र बुद्ध बहादुर सोमैको संयोजकत्वमा उक्त रकम संकलन गरी प्रदान गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला , नेकपाका कृष्ण लामीछाने , नेपाल राष्ट्रिय जनमुक्तिका बम लामिछाने , वडा नम्बर १ का वडा अध्यक्ष सोभिलाल चौतारे लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो।
Discussion about this post