गुडिरहेको एम्बुलेन्सबाट खस्दा दाङको लमही नगरपालिकामा एक महिलाकाे ज्यान गएको छ । एम्बुलेन्सबाट खसेर लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (स्थायी घर राजपुर गाउँपालिका ७ भैँसाहीनाका) की ३५ वर्षीया कमला विकको ज्यान गएको प्रहरीले जनाएको छ । एम्बुलेन्सबाट खसेर टाउकोमा गहिरो चोट लागेकी विकको बुधबार राति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो । नेपालगञ्जबाट उपचार गरेर घर फर्किँदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँ पुग्ने क्रममै ती महिला एम्बुलेन्सबाट खसेकाे बताइएकाे छ । ढोका खुलेर नलागेको अवस्थामा त्यही ढोकामा कमला अडिएको हुन सक्ने प्रहरीको अनुमान छ । एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post