काठमाडौं, १२ मंसिर
आध्यात्मिक मार्गमा हिँड्ने मानिसहरूले गौतम बुद्धलाई बेवास्ता गर्न सक्दैनन्, किनभने उनको उपस्थिति त्यस हदसम्म शक्तिशाली बनेको छ । आफ्नो जीवनकालमा, उनीसँग चालीस हजार भिक्षुहरू थिए, जसले बाहिर गएर आध्यात्मिक प्रक्रियाहरू फैलाए । उनले आफ्नो शान्तिपूर्ण तरिकाले संसारलाई सधैँको लागि परिवर्तन गरिदिए । यस धरतीमा आध्यात्मिक तरङ्गहरू ल्याउने बुद्ध–पुरुषहरूमध्ये गौतम बुद्ध एक हुन् । योग संस्कृतिमा बुद्ध पूर्णिमा सधैँ एक महत्त्वपूर्ण दिनको रूप्मा रहिआएको छ, साथै आध्यात्मिक जिज्ञासुको जीवनमा अत्यन्तै शुभ दिन मानिन्छ । गौतम बुद्धको स्मृतिमा हामीले यस दिनलाई उनको नामबाट राखेका हौँ । किनकि, २५०० वर्षभन्दा पनि पहिले यही पूर्णिमामा एक व्यक्ति आफ्नो परम प्रकृतिमा प्रस्फुरित भएर जीव बनेका थिए ।
मानिसहरूले सामान्यतया “बुद्ध” शब्दलाई सिद्धार्थ गौतमसँग जोड्ने गर्छन्, यद्यपि उनी एकमात्र बुद्ध होइनन् । यस धरतीमा हजारौँ बुद्ध भएका छन्, र अझै पनि छन् । “बु” भनेको बुद्धि हो । जो आफ्नो बुद्धिबाट माथि उठेका हुन्छन्, जो आफ्नो मनको दास रहँदैनन्, उनी बुद्ध हुन् ।
यतिखेर, अधिकांश मानिसहरू अनेक विचार, भावना, धारणा अनि निश्चय नै विभिन्न पूर्वाग्रहहरूको डङ्गुर बनेर रहेका हुन्छन् । कृपया यो बुझ्नुहोस्: तपाईं जसलाई “आफू” ठान्नुहुन्छ, त्यो तपाईंले बाहिरबाट जम्मा गर्नुभएका चीजहरूको सम्मिश्रण हो । तपाईंले जस्तो परिस्थितिहरू सामना गर्नुभयो, सोहीअनुसार अनेक फाल्तू कुराहरू आफ्नो दिमागमा जम्मा गर्नुभएको छ । तपाईंको दिमाग समाजले फोहोर फाल्ने भाँडो हो, किनकि तपाईं के लिने र के नलिने भनेर रोज्न सक्नुहुन्न । जो–जसले तपाईंलाई भेट्छन्, तपाईंको दिमागमा केही ने केही थोपरेरै जान्छन् । यदि तपाईंले चाहने हो भने, तपाईं यी सबै रद्दी कुराहरूलाई देवतुल्य ठानेर सुरक्षित राख्न सक्नुहुन्छ, तर त्यसो गर्दैमा त्यो दिव्य बन्दैन; यो त्यही पङ्गु दिमाग नै रहन्छ । आफ्नो दिमागी प्रक्रियाहरू वा भनौँ मनबाट पर जाने अनि जीवनलाई अनुभव गर्ने अर्कै तरिका छ । यसको लागि तपाईंले यो फोहरको भाँडोलाई बन्द गर्नुपर्छ अनि यसबाट असंलग्न रहनुपर्छ ।
मन अद्भुत चीज हो, तर यदि तपाईं यसमै अल्झिनुभयो भने, यसले तपाईंलाई अन्तहीन रूपमा झुक्याइरहन्छ । यदि तपाईं मनमै फस्नुभयो भने, तपाईं जतिबेला पनि पीडामा डुबिरहने मानिस बन्नुहुन्छ— तपाईं त्यसबाट उम्किनै सक्नुहुन्न । यस्तो स्थितिमा पीडित हुनु अवश्यम्भावी कुरा हो । सायद, सूर्यास्तको मनोरम दृश्य हेरिरहेको बेला त्यो सुन्दरतामा मग्न भएर तपाईं अरू सबैथोक बिर्सिनुहुन्छ होला, तर तपाईंका सम्पूर्ण पीडाहरू तपाईंको पुच्छरझैँ झुण्डिरहेका हुन्छन् । तपाईंले पछाडि फर्केर हेर्ने हो भने, सम्पूर्ण पीडाहरू देख्नुहुनेछ । तपाईं जुन कुरालाई “मेरो खुसी” भन्नुहुन्छ, ती यस्ता क्षणहरू थिए, जब तपाईंले आफ्ना दु:ख–कष्टहरू बिर्सिनुभएको थियो । तर, जबसम्म तपाईं मनमै फसिरहनु हुन्छ, डर, चिन्ता र तनाव उत्पन्न हुनु स्वाभाविक कुरा हो; मनको प्रकृति नै त्यस्तै हुन्छ ।
मनको यातना सहन नसकेकोले नै समाजमा मानिसहरूले मनबाट छुटकारा पाउनको लागि अनेक जुक्तिहरू निकालेका छन् । चाहिनेभन्दा बढी खाने, मदिरा पिउने, शारीरिक सुखहरूमा अति लिप्त हुने जस्ता कार्यहरू मनको प्रक्रियाहरूबाट मुक्त हुने आशयले गरिन्छन् । मानिसहरू यस्तै–यस्तै तरिकाहरू प्रयोग गरेर केही क्षणको लागि आफ्ना यातनाहरू बिर्सिन्छन् । तपाईं बोत्तल रित्याउनु हुन्छ अनि ढल्नुहुन्छ । केही घण्टाको लागि तपाईंको मनले तपाईंलाई सताउँदैन, किनकि तपाईं मनको प्रक्रियाहरूबाट पर रहनुहुन्छ । मनका यातनाहरू एकाएक बन्द हुने भएकोले, तपाईंले एकदमै सुख अनुभव गर्नुहुन्छ; यसबाट ठूलो राहत पाएको आभास हुन्छ । यसैकारण, तपाईं ती कार्यहरूप्रति निकै बढी आसक्त हुनुहुन्छ ।
तर, क्रम–विकासको प्रक्रिया नै यस्तो छ कि केही पलको लागि तपाईंले मनका प्रक्रियाहरूबाट छुटकारा पाए तापनि, तपाईं पुनः त्यसमै फर्किनुहुन्छ । त्यसैले, यदि तपाईं यी प्रक्रियाहरूबाट मुक्त हुन चाहनुहुन्छ भने, तपाईं मनबाट पर जानुपर्ने हुन्छ । विकास प्रक्रियामा पछाडि फर्किने प्रश्न नै उठ्दैन । यदि तपाईंले कुनै रसायन प्रयोग गरेर मनका प्रक्रियाहरूलाई शान्त गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि त्यो रसायनको असर समाप्त भएपछि जीवनको प्रक्रिया अझ बढी निर्मम हुनेछ । यो सधैँ यस्तै हुन्छ । पीडा झन् प्रखर हुन्छ । तसर्थ, योगको समग्र प्रक्रियाले मनबाट पर कसरी जान सकिन्छ भन्ने कुरालाई सम्बोधन गर्दछ । तपाईं मनबाट पर जानुभयो भनेमात्र, तपाईं आफ्नो वास्तविक स्वरूपमा रहन सक्नुहुन्छ ।
–सदगुरुको प्रवचनमा आधारित
Discussion about this post