आयुर्वेद औषधालयमा बिरामीको विश्वास बढ्दै

27
SHARES
227
VIEWS

कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरामीको चासो र विश्वास बढ्न थालेको छ । बागलुङको कूल जनसंख्याको १० प्रतिशतले मात्रै आयुर्वेदको माध्येमबाट उपचार गराउँदै आएकामा अहिले यसको संख्या क्रमशः बढ्दै गएको हो ।

हजुरबुवा-हजुरआमाको पालामा प्रशस्त प्रयोग गरिएको औषधिको कोरोनाकै कारण पुनः खोजी र प्रयोग गर्ने क्रम बढेको हो । कोरोनाकाल अघिसम्म फुर्सदिला देखिने औषधालयका कर्मचारी अहिले व्यस्त देखिन्छन् ।

पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ । कोरोनाकालमा गुमनाम भएको आयुर्वेद औषधि बेसार, गुर्जो, असुरो र अश्वगन्धा लगायत चर्चामा रहेका हुन् ।

सक्रिय संक्रमितको समयमा कोरोनाको औषधिका रुपमा धेरैले आयुर्वेद औषधिको प्रयोगमात्रै गरेनन्, औषधिको प्रयोगले कोरोना जितेको अनुभव छ बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनको ।

‘बाजे, हजुरबुवा, आमाले आयुर्वेद औषधिमा भर परेको हामीलाई थाहा थियो तर, हामीले अहिले विश्वास गरेका थिएनौं’, उनले भनिन्, ‘आफैंलाई कोरोना लागेपछि आयुर्वेदको प्रयोग गरियो, अहिले आयुर्वेदले विश्वास जित्दै गएको छ ।’

आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालय बागलुङले जनाएको छ । कोरोनाले गर्दा पुनः एकपटक आयुर्वेद चिकित्साले नागरिकको भरोसा जित्न सफल भएको औषधालयका प्रमुख डा.सरोज रायले बताए ।

‘दैनिक रुपमा आयुर्वेद औषधि प्रयोग गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ, विशेषगरी कोरोनाका कारण नागरिकमा आयुर्वेद चेतनाको वृद्धि भएको छ’, उनले भने, ‘नागरिकको बेवास्ताका कारण गुमनाम बनाइएको गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधु अहिले पुनः प्रयोगमा आएका मात्रै छैनन् नागरिकले खोजी–खोजी प्रयोग गर्न थालेका छन् ।’

कोरोनाले आयुर्वेद औषधिप्रतिको भरोसा पनि बढाउँदै लगेको र यसले गर्दा लोपोन्मुख जडीबुटीको संरक्षणमा टेवा पुर्याउने उनको भनाइ छ । गुर्जो गुमनाम जस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो, अहिले कतिपय स्थानमा गुर्जोखेतीसमेत गर्दै आएको पाइएको छ ।

कोरोना संक्रमित भई होमआइसोलेशनमा बसेकाले कुनै न कुनै हिसाबले आयुर्वेद औषधि तथा औषधिजन्य पदार्थ सेवन गरेको डा.रायको दाबी छ । गुर्जो, टिमुर, बेसारपानी, पुदिना, बोझो, दालचिनी जस्ता आयुर्वेद औषधिको प्रयोग गरेर धेरैले कोरोनालाई जितेका थिए ।

औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारबिहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ । कोरोनाका समयमा औषधालयको सेवा नपुगेको बरेङ, काठेखोला, ताराखोला, बडिगाड गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र, पालिकाको स्वास्थ्य शाखा र अस्थायी कोभिड अस्पतालमार्फत औषधि पठाई सेवा दिइएको थियो ।

औषधालयले उत्पादन गरेको आयुर क्वाथ, गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका संक्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार