जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को बैठकले भदौ १२ गते शुक्रबार राति १२ः०० बजेदेखि भदौ १९ गते शुक्रबार राति १२ः०० बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापनको निर्णयले पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।
बैठकले सार्वजनिक तथा निजी सवारी साधन बाहेक एम्बुलेन्स, शववाहन, खाद्य सामग्री, औषधी, दाना, पानी, दूध, फलफूल, ग्याँस, पेट्रोलियम पदार्थ बोकेको सवारी साधन तथा झण्डावाहक र कुटनीतिक नियोगका सवारी साधन सुचारु रहने जनाएको छ । त्यसैगरी स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी,एटिएयम काउन्टर, हुलाक बाहेक सबै सरकारी, सार्वजनिक, बैँक तथा वित्तीय संस्थाका सेवाहरु बन्द रहने छन् । होटेल तथा रेष्टुरेण्ट, व्युटी पार्लर, शैलुन, जीमखाना, बन्द रहने तर खाद्यान्न, फलफूल, तरकारी, दूध, डेरी र अन्य पसलहरु विहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म खुला रहने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले एम्बुलेन्समा चालकवाहेक बिरामी र एकजना कुरुवा तथा सामग्री ढुवानी गर्ने साधनमा चालक र सहचालकमात्र रहने र यस्ता सवारी साधनहरु गन्तव्यमा पुगेर मात्र रोकिने व्यवस्था गर्नु पर्ने जनाएको छ । अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु पर्नेछ । यदि आदेशको उल्लंघन गरे प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Discussion about this post