संगम अधिकारी
लकडाउनको सदुपयोगसँगै स्याङ्जामा १७ सय बाँझो जग्गामा खेति गरिएको छ । स्याङ्जाको फेँदिखोला गाउँपालिकामा १७ सय रोपनी बाँझो जग्गाको प्रयोग गरी खेति गरिएको हो ।
खाद्य सुरक्षा, खाद्य उत्पादनमा वृद्धि आयात प्रतिस्थापन’ कार्यक्रम अन्तर्गत पालिकाभित्रका १७ सय रोपनी बाँझो जग्गामा खाद्य उत्पादन गरिएको हो । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार १७ सय बाँझो जग्गामा ६ करोडको खाद्य आयात प्रतिस्थापन हुने विश्वास गरिएको छ ।
बैशाख महिनामा खाद्य सुरक्षा कार्यक्रमका लागि सूचना प्रकाशित गरेकोमा पालिकाका ३ सय २४ घरपरिवार लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । दुईवर्षदेखि बाँझो रहेको जग्गामा खेति गर्नेलाई आफ्नै जग्गामा प्रतिरोपनी २ हजार र भाडामा जग्गा लिएर गर्नेलाई प्रतिरोपनी २५ सय रुपैँया अनुदान दिईएको अध्यक्ष सुवेदीले बताउनुभयो । बाँझो जग्गामा खेति गर्नेलाई आर्थिक वर्ष २०७६÷०७७ मा प्रोत्साहन स्वरुप १७ लाख रकम प्रदान गरिएको अध्यक्ष सुवेदीले उल्लेख गर्नुभयो । सबै भन्दा धेरै जग्गामा खेति गरेबापत आरुखर्कका कृषकले ४८ हजार प्रोत्साहन रकम बुझेका छन् ।
बाँझो जग्गामा कसैले धान, कोदो खेति गरेका छन् भने केहिले व्यवसायिक तरकारी खेति समेत गरेका छन् । कोभिड १९ को महामारीले हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यो लकडाउनमा कृषकलाई प्रोत्साहन गर्ने प्रयास गरेको अध्यक्ष सुवेदीको भनाइ छ । लकडाउनका बेला मानिसहरु आफ्नो थातथलोमा फर्किदा समेत यसपाली खाद्य सुरक्षा कार्यक्रममा उत्साहाजन सहभागिता रहेको अध्यक्ष सुवेदीले उल्लेख गर्नुभयो ।
Discussion about this post