गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बिहीबार एक सय ९२ महिला र पाँच सय १५ जना पुरुषमा सङ्क्रमण देखिएकाे हाे । ११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा सात सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय ६४ पुगेको छ । अहिले ११ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ११ हजार सात सय ६८ जना क्वरेण्टीनमा रहेका छन् । गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ । पर्सामा तीन जना, काठमाण्डाै, मकवानपुर र सप्तरीमा एक/एक जना गरी ६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । काेराेना सङ्क्रमणकाे उपचार गराइरहेका मध्ये एक सय २९ जना आईसीयूमा र सात जना भेन्टिलेटरमा रहेका पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो । यस्तै ६ जिल्लामा कोरोनाका पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पर्सा, महोत्तरी, मोरङ, रौतहट, काठमाण्डाै, सर्लाही जिल्ला पाँच सयभन्दा धेरै कोरोना सङ्क्रमित भएका जिल्लाको सूचीमा छ । यस्तै भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा भने कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
Discussion about this post